ज्वालामुखी २ मा रोचक भिडन्त: एमाले विरुद्ध एमाले, कांग्रेसमा बागी, माओवादीका शाहीको पक्षमा माहोल

Avatar photo
Dhadingpost
बैशाख २७, २०७९

समीकरण/धादिङ ।
आसन्न स्थानीय तहको निर्वाचन २०७९ को मिति नजिकिँदै जाँदा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. २ को चुनावी रौनक बढेको छ । यस वडामा राजनीतिक दलबाट ५ र स्वतन्त्र ३ गरि जम्मा ८ जना वडा अध्यक्षको चुनावी मैदानमा रहेका छन् । रोचक पक्ष त के छ भने, यस वडामा एमाले, एमाले कै विरुद्धमा चुनावी प्रतिस्पर्धामा छ ।

नेकपा एमाले ज्वालामुखी २ को वडा कमिटीको सिफारिस विपरीत जिल्लाले अनुपयुक्त व्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाएको भन्दै वडा कमिटीका बहुमत सदस्यको गत वैशाख ११ गतेको बैठकले वडा कमिटी भङ्ग गर्दै नेकपा माओवादी केन्द्र सँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

पाँच दलीय गठबन्धन भित्र मात्रै चुनावी तालमेल गर्ने केन्द्रीय नीतिका विपरीत यस वडामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको विद्रोही पक्षबीच गठबन्धन बनेको छ । जस अनुसार नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा र नेकपा एमालेले अन्य ४ जना सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट अर्जुन शाही ठकुरी वडा अध्यक्षको उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट चार जना सदस्य उम्मेदवारहरूमा मर्कु तामाङ, निराजन श्रेष्ठ, कौशिला विश्वकर्मा र ममिता नेपाली रहेका छन् । तामाङ एमाले वडा कमिटीका उपाध्यक्ष हुन् भने श्रेष्ठ वडा कमिटीका सचिव हुन् । उनीहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडाबाट चुनाव लड्नेछन् ।

यो टिमलाई नेकपा एमाले, जिल्ला पार्टी समन्वय समिति, धादिङका सल्लाहकार तथा गत स्थानीय तहको निर्वाचन २०७४ का एमालेका वडा अध्यक्षका उम्मेदवार बालबहादुर बस्नेत, जिल्ला सदस्य रामबहादुर कार्की, अनेरास्ववियु का नेता गगनसिंह बस्नेत लगायतको साथ रहेको छ ।

उता नेकपा एमाले, जिल्ला कमिटी धादिङले भने ज्वालामुखी गाउँपालिका वडा नं. २ मा रामबहादुर बस्नेतलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । बस्नेत एमालेको वडा कमिटीका अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार रहेका बस्नेत नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।

उनी गत स्थानीय तहको निर्वाचन २०७४ मा ३१५ मत पाएर तेस्रो स्थानमा रहेका थिए । सो निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर शाहीले ६३४ र निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालबहादुर बस्नेतले ४३९ मत प्राप्त गरेका थिए । एमालेले वडा सदस्यहरूमा ज्ञानबहादुर मगर, ठानबहादुर तामाङ, कल्पना श्रेष्ठ र कल्पना परियारलाई उम्मेदवार बनाएको छ । एमाले र एमाले बीचको यो प्रतिस्पर्धा अत्यन्त रोचक हुने स्थानीयबासीहरू बताउँछन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट युवा नेता राजु लोप्पा वडा अध्यक्षको उम्मेदवार बनेका छन् भने निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेस, धादिङका जिल्ला सदस्य रणबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसको प्रभाव रहेको यस वडामा बागी उम्मेदवारका कारण नेपाली कांग्रेसको भोट विभाजित हुने देखिन्छ ।

एमाले विभाजनसँगै यस वडामा एकीकृत समाजवादीको समेत राम्रो उपस्थिति रहेको छ । पार्टी विभाजनले कमजोर बनेको एमाले भित्रै दुई समूह बनी निर्वाचन लड्दा र कांग्रेसभित्र पनि बागी उम्मेदवार रहेका कारण त्यसको प्रत्यक्ष फाइदा माओवादी केन्द्रका उम्मेदवार ठकुरीलाई प्राप्त हुने देखिन्छ । जसका कारण उनले सुविधाजनक मत प्राप्त गरि विजय हासिल गर्ने स्थानीय प्रकाश तिवारी बताउँछन् ।

यस वडामा नेकपा माओवादी केन्द्रका अर्जुन शाही ठकुरी , नेकपा एमालेका रामबहादुर बस्नेत, नेपाली कांग्रेसका राजु लोप्पा, स्वतन्त्र (कांग्रेसका बागी) रणबहादुर शाहीसँगै नेकपा एकीकृत समाजवादी का दिवस कार्की गौतम, राप्रपाका गुनबहादुर घले तथा स्वतन्त्र उम्मेदवारहरू कृष्णलाल श्रेष्ठ र बलराम थापा वडा अध्यक्षको चुनावी प्रतिस्पर्धामा छन् ।