ज्वालामुखीमा रोचक भिडन्त हुँदै, गत चुनावमा २४ भोटले जितेको थियो कांग्रेस-माओवादी गठबन्धनले

Avatar photo
Dhadingpost
बैशाख १६, २०७९

धादिङ । धादिङको ज्वालमुखीमा गाउँपालिकामा यो स्थानीय तहको निर्वाचनमा रोचक भिडन्त हुने देखिएको छ । सत्ता गठबन्धनका दलहरुले बैशाख ११ गते गरेको सहमति लागु हुन नसक्दा यो पटक रोचक भिडन्तको स्वरुप देखिएको हो । तथापी सत्ता गठबन्धन धादिङले सहमती कार्यान्वयनका लागि निरन्तर बैठक बस्दै आएको छ । सत्ता गठबधनको सहमती कार्यान्वयन हुँदा कांग्रेसले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने छन् । त्यसका लागि आज सहमती बाहिर परेका उम्मेदवारी फिर्ता गर्नु पर्ने हुन्छ ।

०७४ सालमा एमालेलाई हराउने ज्वालामुखीमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए गठबन्धन गर्दा पनि कांग्रेसका विनोद तिमल्सिनाले २४ भोटले मात्रै अध्यक्षमा एमालेका राम प्रसाद अधिकारीलाई हराएका थिए भने कांग्रेस माओवादी गठबन्धनबाट उप प्रमुखका उम्मेदवार बनेका विष्णु कुमार श्रेष्ठलाई एमाले उम्मेदवार जानुका सिंखडाले ८८५ मतले पराजित गरेकी थिईन् ।

अध्यक्षमा विजयी कांग्रेस-माओवादीका साझा उम्मेदवार विनोद तिमल्सिनाले ५९५४ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका राम प्रसाद अधिकारीले ५९३० मत ल्याएका थिए । कांग्रेस माओवादी गठबन्धन साझा उप प्रमुखका उम्मेदवार विष्णु कुमार श्रेष्ठ ४८९४ मतमा सिमित हुँदा एमाले उम्मेदवार जानुका सिंखडाले ५७७९ मतले विजयी भएकी थिईन् ।

यो पटक अहिले सम्म गठबन्धनको टुङ्गो लागेको छैन भने एमाले विभाजन सँगै एकीकृत समाजवादी पनि चुनावी मैदानमा छ । कांग्रेस र एमाले मिल्दा समेत उपाध्यक्ष गुमाएको कांग्रेस माओवादी र विभाजित एमाले र एकीकृत समाजवाद कुनै पनि दल आफूले जित्नेमा पूर्ण ढुक्क अवस्थामा रहेको देखिँदैन ।

यो पटक कांग्रेसले यमनाथ दनै, एमालेबाट हरिराम लोहनी, माओवादी केन्द्रबाट हरिबहादुर दनै, नेकपा एकीकृत समाजवादीबाट सुनिता सिंखडा र राप्रपाबाट टकबहादुर अधिकारीले ज्वालामुखी गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।