नेत्रावती डवजोङका कांग्रेस आन्दोलित, चुनावमा एकल लड्न पाउनु पर्ने माग

Avatar photo
Dhadingpost
बैशाख ५, २०७९

धादिङ । धादिङमा सत्ता गठबन्धनको बैठकले आईतबार दिउँसो नेत्रावती डवजोङ पालिका सहित ३ पालिका माओवादीलाई दिने आन्तरीक सहमति भएको जानकारी पाउन साथ जिल्ला स्थित कांग्रेसको कार्यालयमा नेत्रावती डवजोङको कांग्रेस कार्यकर्ताहरु धर्नामा सहभागी भए ।

हामीलाई जित्न गठबन्धन चाहिँदैन एकल लड्न पाउनु पर्ने माग गर्दै धर्नामा बसेका उनीहरुले आज एक ज्ञापन पत्र बुझाउँदै यदि गठबन्धन भए टोल कमिटी सम्म राजिनामा गरेर स्वतन्त्र उठ्ने बताएका छन् । धादिङपोष्ट सँग कुरा गर्दै कांग्रेस नेत्रावती डवजोङका सभापति ठाकुर गुरुङले भने केन्द्रिय मापदण्डले पनि एकल लड्न छुट दिएको छ हामी एक्लै चुनाव जित्छौ, किन गठबन्धन गर्ने ।

हामीले हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छौं धर्ना निरन्तर चलिरहेको छ नेताहरुले नेत्रावती डब्जोङ माओवादीलाई दिएको कुरा सत्य नभएको बताएका छन् सभापति गुरुङले बताए । स्थानीय पार्टीको सुझाव र राय नलिई जिल्ला पार्टीले निर्णय गरे नेत्रावती डवजोङका सबै कांग्रेसहरुले राजिनामा दिने गाउँपाटिमा सहमति भएको समेत उनले बताए ।

गठबन्धनले हाल सम्मको सहमति बाहिर सार्वजनिक नगरे पनि माओवादी केन्द्रले बेनीघाट रोराङ, थाक्रे र नेत्रावती डवजोङ गरी ३ पालिका, नेकपा समाजवादीले धुनीबेसी, गल्छी र रुबीभ्याली गरी ३ पालिका, नेपाली कांग्रेसले खनियाबास, गंगाजमुना, त्रिपुासुन्दरी, ज्वालामुखी, नीलकण्ठ, सिद्धलेक र गजुरी गरी ७ पालिका पाउने सहमति भएको बताईएको छ ।