
धादिङ । धादिङमा सत्ता गठबन्धनको सहमतिका लागि वैठक जारी भने स्थानीय तहमा उम्मेदवार छान्ने काम पनि दलहरुले आ आफ्नो तरिकाले गरि रहेका छन् । यस्तै आज बसेको माओवादी केन्द्र नीलकण्ठ नगरको बैठकले मेयर र उप मेयरमा दावी आएका नामहरु माथिल्लो कमिटीमा पेस गर्ने निर्णय गरेका छन् ।
माओवादी केन्द्र नीलकण्ठले मेयर पदका लागि मनराज भण्डारी, कमल सापकोटा, तिलक थापामगर र शम्भु श्रेष्ठको नाम छनोटको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ भने उप प्रमुखमा ९ जना सोम्बोले तामाङ (अक्कल), दिपक विश्वकर्मा, रामचन्द्र सामरी, रुद्रबहादुर खत्री, सरला धमला, बद्री सुवेदी, ध्रुव थापा, सिता भण्डारी (अन्जना) र निशा मजाकोटीको नाम सिफारिस गरेको छ ।
मेयर पदका दावेदार मनराज भण्डारी र उप मेयरका दावेदार सिता भण्डारी श्रीमान श्रीमती हुन् । मनराज भण्डारी ०७४ सालको स्थानीय तहको निर्वाचनमा उप मेयरमा निर्वाचित भएका थिए । यस्तै मेयरमा दावी गर्ने कमल सापकोटा माअेवादी केन्द्र उपत्यका विशेष प्रदेशका सचिव हुन उनी पर्यटन व्यवसाय सँगै टुकी नेपाल मार्फत समाजिक सेवा गर्दै आएका छन् । त्यसै गरी मेयर पदका अर्का आकांक्षी शम्भु श्रेष्ठ माओवादी केन्द्र नीलकण्ठको अध्यक्ष हुन् ।
उप प्रमुख पदका प्रमुख दावेदारका रुपमा रहेका सोम्बोले तामाङ (अक्कल) माओवादीको जनयुद्धकालिन नेता हुन् । माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटीका सह सचिव समेत रहेका उनी ०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवारी दावी गरेका थिए । सहिद परिवार सदस्य तामाङ पार्टीले उप प्रमुख पाउँदा आफुले उपमेयर पद नछाड्ने बताउँछन् ।
