
धादिङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाईसीएल नेपालका इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) ले वाईसीएल कार्यकर्तालाई अबको एक महिना नसुत्न, नथाक्न र नझुक्न निर्देशन गरेका छन् ।
वाईसीएल धादिङको नीलकण्ठ नगर सम्मेलन उद्घाटन गर्दै दिपशिखाले हिजो माओवादी जिताउन लागेको वाईसीएल अब सत्ता गठबन्धनका उम्मेदवार जिताउन लाग्नु पर्ने भएकोले अबको एक महिना नसुत्ने, नथाक्ने र नझुक्ने प्रतिवद्धताका साथ चुनावी प्रचारमा लाग्न निर्देशन गरेका हुन् ।
बैशाख ३१ पछि स्थानीय तहमा कांग्रेस पहिलो पार्टीर माओवादी दोस्रो पार्टी बन्ने दावी गर्दै उनले एमालेको अबको स्थान चौथो हुने बताए । हामी संविधानका रक्षकहरुको गठबन्धन भएकोले एमाले अतालिएको छ, जव मान्छे डराउँछ तव चिच्याउँछ यति बेला केपी वली र उनका कार्यकर्ता चिच्याउन थालेको र वर्वराउन थालेको बताउँदै गठबन्धनका कार्यकर्ताहरु माथि कतै धावा बोल्ने चेष्टा भयो भने वाईसीएल जागै रहेको उनले बताए ।
हामी चुनाव जित्ने हो, एमालेलाई हराउने हो, त्यसैका लागि गठबन्धन बनेको हो । गठबन्धका उम्मेदवार जुन पार्टीका हुन् वाईसीएलले चिन्दैन जिताएर विजयी उत्सवमा सहभागि हुने उनले बताए ।
देशभर गठबन्धनले एउटा मापदण्ड बनाएको छ, गठबन्धनका दलका उम्मेदवारहरुले ०७४ मा जुन जुन पालिका र वडामा जितेका थिए ति ठाउँहरुमा त्यहि दलका उम्मेदवार हुन्छन् भने एमालेले जितेका ठाउँहरु बाड्ने हो । बाड्ने क्रममा कथम कदाचित कतै मिल्न सकेन भने सिङ्गल सिङ्गल लड्ने हो तर गठबन्धनका दलहरु गठबन्धन बाहिर गएर तालमेल गर्न नपाईने दिपशिखाले बताए ।
बाईसीएलको नीलकण्ठ नगर अधिवेशनमा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव, दलबहादुर बुर्लाकोटी, वाईसीएलका केन्द्रीय अध्यक्ष सुमन देवकोटा, माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी लगायतको आतिथ्यता रहेको छ ।










