बुढीगण्डकी जलविद्युतको काम अब स्वदेशी लगानी मै

Avatar photo
Dhadingpost
चैत्र २५, २०७८

धादिङ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम आफै गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडी बढाउने निर्णय गरेको हो ।

यस अघिको सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउने दिने निर्णय भएको थियो ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने भनेर पेट्रोलियम पदार्थबाट अर्बौ कर उठाइसकेको छ । आयोजना अन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । यसका लागि ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बन्ने बताएकी थिइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी सुनाउन आयोजना गरिएको कार्यक्रममा यस्तो बताएकी थिइन् ।