
उद्व चेपाङ
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ४ को डुम्रे छिपिगाउँका स्थानीयले एक घर एक खानेपानी धारा पाएका छन् । एक गाग्री पानी भर्न घण्टौं लाईनमा बस्नु पर्ने डुम्रे छिपिगाउँस्थानीएले बेनिघाट रोराङ गाउँपालिका, शान्ति नेपाल र डुम्रे छिपिगाउँ उपभोक्ता समुदायको संयुक्त साझेदारीमा क घर एक खानेपानी धारा पाएका हुन् ।
बेनिघाट रोराङ गाउँपालिकाको २ लाख ४७ हजार २ सय पचास, शान्ति नेपालको ३ लाख ४० हजार ९ सय २८ रुपैयाँ ४८ पैसा, समुदायको नगद १० हजार ८ सय रुपैयाँ, समुदायको तर्फबाट जनश्रमदान ३ लाख ६३ हजार ३ सय रुपैयाँ गरी जम्मा ९ लाख ६२ हजार २ सय ७८ रुपैयाँ ४८ पैसामा खानेपानी योजान सम्पन्न भएको थियो । डुम्रे छिपिगाउँ खानेपानी योजनाको काम सम्पन्न भएपछि एक कार्यक्रमको आयेजना गरी खानेपानीको उद्घाटन गरिएको थियो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न खानेपानी उद्घाटन कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिल्वाल, वडा नम्वर ४ का अध्यक्ष गुणराज उप्रेती, शान्ति नेपालका कार्यकारी निर्देशक पि।आर शर्मा, परियोजना संयोजक लाल प्रसाद पोखरेल, वडा सदस्य राजकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
खानेपानी योजना सम्पन्न भएपछि समुदायको सरसफाई तथा स्वच्छता, आमा र बच्चाको स्वास्थ्य र पोषण अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ । नेपाल सरकारको पुर्ण सरसफाई मार्गदर्शन २०७३ अनुसार सन् २०२५ सम्ममा नेपाललाई सफा र स्वच्छ क्षेत्र घोषणा र सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ ।
पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका लागि योजना तर्जुमा र कार्यान्वयन, समुचित तरिकाले चर्पीको प्रयोग, व्यक्तिगत स्वच्छता, सुरक्षित पानीमा पहूच तथा प्रयोग, खाना प्रयोग सम्बन्धी व्यवहार, घर, विद्यालय संघ सस्था, सरसफाइ फोहरको सुरक्षित विसर्जन, वातावरणीय सरसफाइ लगायतका सुचकहरु पुरा गर्नुपर्ने हुन्छ ।
खानेपानी योजना सम्पन्न भएपछि सफा र स्वच्छ क्षेत्र तथा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका सुचकहरु पुरा गर्न सहयोग पुग्ने आशा गरिएको छ । शान्ति नेपाल र बेनिघाट रोराङ गाउँपालिकाको सहकार्यमा समुदायको जिविकोपार्जन, स्वास्थ्य तथा सरसफाई, ५ बर्ष मुनिको बालबािलकाका र आमाहरुको पोषण सुधार र समुदायको सशक्तिकरण गर्ने उद्देश्यका साथ एकिकृत सामुदायिक पोाषण तथा खाद्य सुरक्षा परियोजना सञ्चालन हुँदै आइरहेको छ ।
