वैद्य माओवादीले चुनावमा भाग नलिने, बहिस्कार अभियान चलाउने

Avatar photo
Dhadingpost
चैत्र १, २०७८

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न भएको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा बसेको वैठकले ७ बुँदे निर्णय लिएको आज जारी प्रेस वक्तव्यमा उल्लेख छ । पार्टीको क्रान्तिकारी छवि चुनाव उपयोगबाट भन्दा बहिष्कारद्वारा नै समुज्जल हुने देखिएको विज्ञप्तिमा जनाइएको छ । साथै, बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाइ सञ्चालन गर्ने निर्णय समेत पार्टीले लिएको छ ।

स्वच्छ तथा निस्पक्ष निर्वाचनको कुनै सम्भावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनवटै अंग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुगेको लगायतका आरोप पार्टील्ले लगाएको छ । एमसीसी अनुमोदन गरिएकोमा विरोध गर्दै पार्टीले यसको खारेजीका लागि निरन्तर संघर्ष गर्ने पनि जनाएको छ ।

वैद्यले भनेका छन् ‘नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको छ। अहिले संसद्मा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमालेलगायतका राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थिति छ।’

x