
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा एक वर्षमै तयार भएको मिनि रंगशालाको उद्घाटन गरिएको छ ।
पिप्ले युवा क्लबको अगुवाई एवम् हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रंगशाला शुक्रबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।
उक्त रंगशाला करिब पौने २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडावासीको तर्फबाट १ करोड ३९ लाख रुपैयाँ, विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष घिमिरेले बताए ।
हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहाँ संचालन हुने फुटबल प्रतियोगिताहरु बाँसको अस्थायी प्यारफिटमा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ ।

