बैठकमा दाहालको आलोचना गर्ने प्रकाश समुहको तयारी

Avatar photo
Dhadingpost
फाल्गुन २०, २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन ।
११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाललाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

अन्य पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै छ ।

माओवादी केन्द्रका नेता गणेश साहले केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने बताए ।

व्याख्यात्मक घोषणासँगै एमसीसी सम्झौता संसद्बाट गत आइतबार पारित भएपछि माओवादी केन्द्रमा विवाद चर्किएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेता असन्तुष्ट छन् । श्रेष्ठ समूहले पछिल्लो अवस्था’ दलगत छलफल गर्दै केन्द्रीय समितिको बैठकमा सहभागी हुने निष्कर्षमा पुगेका छन् ।

माओवादी केन्द्र स्रोतका अनुसार बैठकमा सहभागी भएर अध्यक्ष दाहालको कार्यशैलीको चर्को रूपमा आलोचना गर्ने असन्तुष्ट नेताहरूको तयारी छ । पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत सहमति गरेर एमसीसी पारित गर्ने रणनीति अध्यक्ष दाहालले बनाएपछि उनको आलोचना भइरहेको छ ।

x