
काठमाडौं । वाग्मती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले यस वर्ष प्रदेश सरकारले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसद्लाई १ करोड गरी कुल २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले प्रदेश पूर्वाधार साझेदारको बजेट ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णराम खनालका अनुसार स्थानीय तहबाट कार्यान्वयन भइरहेका समपूरक योजनालाई पूर्णता दिन १२ करोड ४८ लाख ३७ हजार रुपैयाँ रकम भुक्तानी दिने बैठकले निर्णय गरेको छ ।
प्रदेश सरकारको बजेटबाट २५ वटा स्थानीय तहमा समपूरक योजना लागू भइरहेको छ । बैठकले प्रदेशभर सञ्चालनमा रहेको सामुदायिक अस्पताललाई अनुदान दिने निर्णय समेत गरेको छ ।
