धादिङ अस्पताल सहित ४ अस्पतालका अध्यक्ष नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०७८

धादिङ । सर्वोच्च अदालतले धादिङ अस्पताल सहित बागमती प्रदेशका ४ वटा अस्पतालका अध्यक्षहरुलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतका अस्पतालका अध्यक्षहरुलाई हटाएर केहि अध्यक्षहरु नियुक्ति समेत गरि सकेको अवस्थामा धादिङ अस्पतालका महेन्द्र धमला, सहित ४ अस्पतालका अध्यक्षको पक्षमा शुक्रबारअल्पकालीन अन्तरिम जारी गरेको हो ।

कानुन विपरित आफुहरुलाई हटाईएको भन्दै धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल र भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, सामाजिक विकास मन्त्रालय र प्रदेशका स्वास्थ्यमन्त्री विरुद्ध रिट दायर गरेका थिए ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले एमाले र माओवादीका तर्फबाट नेकपाकालीन सरकारका समयमा नियुक्त भएका प्रदेशअन्तर्गतका २६ वटा अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाएका थिए । जसमा अहिले पनि सत्तासाझेदार दल रहेको माओवादी केन्द्रनिकट अध्यक्षहरु पनि थिए ।

माओवादी केन्द्रको असन्तुष्टिपछि मन्त्री लामाले माओवादी केन्द्रनिकट अध्यक्ष रहेका अस्पतालहरुको अध्यक्ष नियुक्तिमा केही समय ढिलाइ गरेका थिए । उनले शुक्रबारमात्रै ती पाँच वटा अस्पतालमा पनि कांग्रेसनिकट अध्यक्षहरु नियुक्त गरेका छन् । सर्वोच्चको हटाइएको अध्यक्षहरुको पक्षमा अन्तरिम आदेशसँगै शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयको नियुक्त गरेका अध्यक्षहरूको नियुक्ति अनिश्चित बनेको छ ।