कि सरकार छाडौँ नत्र सडकमा नजाऔँ -मन्त्री झाँक्री

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७८

चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

उनले थपिन्, ‘विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन्। एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

x