कांग्रेस नेता इन्द्र बानियाँद्वारा धादिङका ३५० चेपाङलाई न्यानो कपडा प्रदान

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७८

धादिङ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले धादिङका ३५० विपन्न चेपाङहरुलाई मंगलबार न्यानो कपडा प्रदान गरेका छन् । यस अघि चितवनका विभिन्न ठाउँमा न्यानो कपडा वितरण गरेका बानियाँले मंगलबार धादिङको बेनीघाट रोराङ र गजुरीका चेपाङकरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

नेता बानियाँ आफै उपस्थित भएर गजुरी गाउँपालिका ४ भीरकटेरीमा ३० परिवार, वडा नम्बर ६ स्याङ्मैडाँडामा १७८ परिवार र बेनिघाट रोराङ गाउँपालिका ३ ओरबाङमा १४२ चेपाङ परिवारलाई जाडोबाट बच्न न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरेका थिए ।

ब्ल्याङ्केट वितरण कार्यक्रममा बोल्दै बानियाँले गरिबलाई सक्षम र सबल बनाउन लागिपर्ने एक मात्र पार्टी कांग्रेस भएको दावी गरे । कम्युनिष्टले गरिब दुखीको नाममा राजनीति गरेको तर गरिबलाई झनै गरिब बनाउने काम गरेको आरोप समेत लगाए ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, महाधिवेशन प्रतिनिधि शिव सुवेदी, बिमला चेपाङ, बेनिघाट रोराङ गाउँपालिकाका पार्टी सभापति ऋषि त्रिपाठी, गजुरी ४ का निर्वाचित वडाध्यक्ष सुरेन्द्र चेपाङ, ६ नम्बर वडा सभापति गोविन्द अधिकारी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।