
धादिङ । धादिङको गजुरीमा राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति धादिङको समन्वयमा धादिङमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन अभ्यासको अबधारणा, जिबिकोपार्जन के हो र जलवायु परिवर्तनको असरले जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराएका थिए ।
बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा। कृष्णराज पन्तले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीको विषय भएको बताउँदै यसलाई न्यूनिकरण गर्न प्रत्येक स्थानीय तहले भूमिका खेल्नु पर्ने बताएका थिए । नेपाललाई दिगो विकासको लक्ष्य हासिल गराउन भोकमरी अन्त्य गराउन आवश्यक रहेको बताउँदै पन्तले जलवायु परिवर्तनले उत्पादनमा ल्याएको कमीलाई हटाउन आआफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी हरि प्रसाद अर्याल,धुनिबेशि नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उप–प्रमुख निरु खरेल,गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना, सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिल्वाल, कृषि ज्ञान केन्द्र, धादिङ उधोग बाणिज्य संघ, जिल्ला रेडक्रस, स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
