
काठमाडौं । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी तीन रुपैयाँका दरले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४५ पुर्याएको छ । निगमले १८ माघमा प्रतिलिटर तीन रुपैयाँले बढाउँदा इतिहासकै महँगो बनेको पेट्रोलको मूल्यले फेरि रेकर्ड तोडेको छ ।
डिजेल र मट्टीतेलको मूल्य पनि तीन–तीन रुपैयाँकै दरले बढेर प्रतिलिटर एक सय २८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ । आयल निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर खरिद मूल्य पनि बढेका कारण नेपाली बजारमा मूल्यवृद्धि गर्नुपरेको बताए ।
‘हामीलाई जुन मूल्य बढेर आएको छ, त्यो दरमा हामीले अझै बढाएका छैनौँ । जसकारण हामी अझै पनि नोक्सानीमै छौँ,’ उनले भने । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा दुई अर्ब १५ करोड रुपैयाँ नोक्सान हुने उनले बताए ।
नेपाल आयल निगमलाई ४ फागुनमा इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद दर पठाएको थियो । त्यसमा पेट्रोल ५.६१ रुपैयाँ र डिजेल ५.६२ रुपैयाँ बढेर आएको थियो । मूल्य बढेर आएपछि निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग मूल्यवृद्धिका लागि पहल गरेको थियो । मन्त्रालयले सहमति दिएपछि निगम व्यवस्थापनले शनिबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

