
काठमाडौं । एमसिसीबारे नेपालका प्रमुख दलहरूबीच गम्भीर मतभेद देखिएका वेला शक्ति राष्ट्रहरू चीन र अमेरिकाबीच यही विषयमा वाक्युद्ध सुरु, दुई मित्रराष्ट्रको ‘अस्वाभाविक सक्रियता’ नेपालका लागि ‘अशुभ’ संकेत, उच्च कूटनीतिक चातुर्यता देखाउन प्रधानमन्त्रीलाई कूटनीतिज्ञहरूको सुझाव
बेइजिङमा पत्रकारको प्रश्न : हालै प्रकाशित समाचारअनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि नेपालले फेबु्रअरी २८ सम्म मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्नुपर्छ । अन्यथा त्यसले अमेरिका–नेपाल सम्बन्धमा असर गर्नेछ । अहिले नेपालमा राजनीतिक दलहरूबीच मतभेद कायमै छ र सम्झौता संसद्मा पेस गर्ने कुरामा सहमति जुट्न सकेको छैन । यसका अतिरिक्त नेपालमा एमसिसी परियोजनाको विरोधमा प्रदर्शन भएको छ । यस सम्बन्धमा चीनको केही टिप्पणी छ कि ?
प्रवक्ता वाङ वेनविन : हामीले यससम्बन्धी प्रकाशित समाचार विवरणहरूलाई नोट गरेका छौँ । नेपालमा आर्थिक विकास तथा नेपाली जनताको जीविकोपार्जन सुधारमा अन्तर्राष्ट्रिय समुदायबाट भएका विकास सहयोगप्रति चीन खुसी छ । तर, यस्ता सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनुपर्दछ । यसमा कुनै पनि राजनीतिक तार नजोडिएको हुनुपर्दछ । नेपालको सार्वभौमसत्ता र हितको मूल्यमा अघि सारिएका स्वार्थी एजेन्डाको जबर्जस्ती कूटनीति र कार्यको विरोध गर्दछौँ । नेपालको मैत्रीपूर्ण निकट छिमेकी र विकास साझेदारका रूपमा चीन सधैँझैँ नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नो विकासको बाटो रोज्न सहयोग गर्नेछ, राष्ट्रिय हित र जनताको रुचिलाई ध्यानमा राखी सही छनोट गर्न नेपाललाई सहयोग गर्नेछ । हाम्रो क्षमताअनुसार देशको सामाजिक–आर्थिक विकासका लागि चीनले निरन्तर सहायता र समर्थन गर्नेछ ।
र्यान्डी बेरी, अमेरिकी राजदूत
एमसिसीलगायतका विषयमा तथ्यमा आधारित सार्वजनिक बहस तथा स्वतन्त्र अभिव्यक्तिको हामी बलियो समर्थक हौँ । आफ्ना विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तरनिहित पक्ष हो र जनतालाई शान्तिपूर्ण रूपमा विचार अभिव्यक्त गर्न दिनैपर्छ । तर, हिंसा तथा हिंसाका लागि उक्साहट कहिल्यै स्वीकार्य छैैन ।
एमसिसी संसद्मा टेबुल नहुँदै शक्तिराष्ट्रका भूराजनीतिक स्वार्थका बाछिटा देखिन थालेका छन् । देशभित्र एमसिसीविरुद्ध उठिरहेका विरोधका स्वरबारे अमेरिकाले ‘हिंसात्मक गतिविधि स्वीकार्य नहुने’ भन्दै धम्कीपूर्ण भाषा दोहोर्याएको छ भने अर्को शक्तिराष्ट्र चीनले ‘अमेरिकाले नेपालमा धम्कीपूर्ण कूटनीति’ गर्न थालेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ । दुवै मित्रराष्ट्रको ‘अस्वाभाविक सक्रियता’ले ‘शुभसंकेत’ गरेको छैन । नयाँ पत्रिकाबाट

