दुबई पुगेका २२ जना चार महिनादेखि अलपत्र

Avatar photo
Dhadingpost
माघ २०, २०७८

काठमाडौं । आफ्नो बुबा गुमाएका छिरिङ शेर्पालाई वृद्ध आमा र भाइको जिम्मेवारी थपिएपछि रोजगारीका लागि काठमाडौंमा भौँतारिए । यही क्रममा उनको आफ्नै फुपाजू आयुज बम्जनसँग भेट भयो । फुपाजूले दुबईमा सुरक्षागार्डमा ५० हजारभन्दा बढी पारिश्रमिक पाइने लोभ देखाएर फिस्टेल म्यानपावरका सञ्चालक तुलसा अधिकारी र रेशम लामिछानेसँग भेट गराए ।

दुबई जान उनले म्यानपावरलाई तीन लाख ३० हजार रुपैयाँ बुझाए । दुबई पुगेपछि स्थानीय एजेन्ट नारायण घिमिरेलाई आफ्नो साथमा लगेको डलर बुझाएपछि उनलाई भाडामा लिएको फ्ल्याटमा राखे । शेर्पा दुबई पुगेको पनि चार महिना बितिसकेको छ, तर जागिर पाएका छैनन् । सो फ्ल्याटमा उनीसहित अन्य २२ जना पनि छन् । ‘कोही दुई महिनादेखि बसेका छन् । कोही चार महिनादेखि बसेका छन् । सबैको बिजोग छ’ उनले भने ।

पोखरा बेगनासताल स्याङखोलाका सुरेश बास्तोला र सन्देश बास्तोला पनि दुबई पुगेको चार महिना भयो । दलालले काम दिलाउन नसक्दा दाजुभाइ अलपत्र परेका छन् । अहिले उनीहरूले कास्की आदर्श सेवाको आश्रय लिइरहेका छन् ।

सुरेश बास्तोलाका अनुसार आफ्नै गाउँका दुबई बस्ने दिनेश बास्तोला र सुजन कँडेलले उनीहरूलाई दुबई बोलाएका थिए । राम्रो काम र मासिक ५० हजार रुपैयाँ पारिश्रमिक पाइने लोभमा दिनेश र सुजनले भनेअनुसार उनीहरू दुबई पुगे । दुबईमा दलाल स्याङ्जाका रमेश सुनारलाई दुवैजनाले दुई लाख २० हजार रुपैयाँ बुझाए । दलालले उनीहरूलाई दुई महिनाजति फुड प्याकिङमा काम पनि लगाए । ‘तर, दुई महिनाकै पैसा पाएनौँ’ उनीहरूले गुनासो गरे ।

दिनेश र सुजन पनि भिजिट भिसामार्फत नै दुबई गएका हुन् । ‘उनीहलाई लैजाने दलालले नै ३३ हजार कमिसन दिन्छु भन्दै केटाहरू खोज भनेको रहेछ,’ उनीहरूले बताए । अहिले उनीहरूको भिसाको अवधि सकिएको पनि एक महिना भएर ओभरस्टेको जरिवानामा परेका छन् । तर, तीनैजना दलालहरू सम्पर्क नआएपछि उनीहरू अहिले समस्यामा छन् ।

युएई जान दिल्लीमै अड्किएकी मोरङ कि तारा निरौलालाई भिजिट भिसामा दुबई जाँदा ठगिने थाहा नभएको होइन । तर, नेपालमा भनेजस्तो रोजगारी नपाएपछि बिदेसिनुको विकल्प नभएको उनले गुनासो सुनाइन् । आफू र आफ्नो छोरीको जीविकोपार्जनका लागि तेस्रो माध्यमबाट चिनेको गोरगेन लामालाई दुई लाख २० हजार दिएर दिल्लीबाट भिजिट भिसामा दुबई जान घरबाट हिँडेकी हुन् । हुन त उनले काठमाडौंबाट नै दुबई उडाइदिन भनेकी थिइन् ।

‘लामाले काठमाडौंबाट अहिले उडान गाह्रो छ । कमिसन खुवाउँदा तीन लाख ५० हजारसम्म लाग्छ भन्यो,’ उनले भनिन् । दिल्लीबाट भने सस्तो हुने भएपछि त्यहाँ पुगेको ४८ दिन भइसकेको छ । लामाले चेन्नई हुँदै दुबई जाने भनेपछि निरौलाले आनाकानी गरिन् । त्यसपछि भने लामाले उनलाई आफ्नो दाजु पर्नेको कोठामा छोडेर भागेको निरालौले बताइन् । निरौला तीन महिनाको भिजिट भिसामा दुबई हिँडेकी हुन् । ‘३६ प्रतिशत ब्याजमा ऋण लिएकी दुई महिनामा ब्याज नै नौ हजार भइसक्यो,’ उनले पीडा सुनाइन् । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

x