
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका चैनपुर निवासी उसु खेलाडी जुनी राईलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्ने भएको छ । मन्त्रालयले खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी १० जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने कार्यक्रम अनुसार धादिङ निवासी खेलाडी राईलाई सम्मान गर्ने भएको हो ।
राई नेपाल प्रहरीबाट उसु खेल्दै आएकी खेलाडी हुन् । १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता जुनी राई २०६८ सालबाट उसु खेलमा सक्रिय छिन् ।
मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार ७ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायकलाई प्रतिभा सम्मान प्रदान गरिने भएको हो । उसुतर्फ चार खेलाडी सम्मानित हुने भएका छन् । धादिङकी जुनी राई, ललितपुरकी निमा घर्ति मगर, सुर्खेतका दिपक हमाल, र भक्तपुरकी सुस्मिता तामाङ रहेका छन् ।
काठमाडौंका कराँते खेलाडी एलेन श्रेष्ठ, सल्यानकी एथलेटिक खेलाडी पुष्पा भण्डारी तथा पारा खेलकुदतर्फका केशव थापाले खेलकुद प्रतिभा सम्मान प्राप्त गर्ने भएका छन् । त्यसैगरी, तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि सो सम्मान प्रदान गरिने निर्णय भएको छ । रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्कालाई सम्मान गरिने भएको छ । उनीहरुलाई नगदसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

