
धादिङ मंसिर १४ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला यस वर्ष मंसिर १९ र २० गते हुने भएको छ । उक्त मेलामा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र इन्द्राणी टिम सहभागी हुने भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।
त्रिपुरासुन्दरी युवा क्लब ( Ntyc Club Dhading) र त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितीले संयुक्त आयोजनामा हुने साँस्कृतिक कार्यक्रम र खेलकुदको पुरस्कार वितरण समारोहमा अर्थमन्त्री शर्मा र कृष्ण कडेलको इन्द्रणी टिम आउने भएका हुन् ।
हाँसेपसल बगरमा त्रिपुरासुन्दरीमाइ न्वागिमेलाको विशेष अवसरमा न्यु त्रिपुरासुन्दरी कप 9-A side फुटबल प्रतियोगिता हुने हुँदा क्लवहरुलाई समयमै टिम दर्ताको लागि समेत क्लवले आव्हान गरेको छ । प्रथम पुरस्कार १ लाख ११ हजार १११ रूपैया र उपविजेतालाई ५५ हजार ५५५ रूपैया प्रदान गरिने यस अन्तर क्लव स्तरीय फुटबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम मंसिर १७ गतेबाट २० गते सम्म हुनेछ ।
हजारौं मानिहरुले सहभागि जनाउने यस मेलालाई पहाडी क्षेत्रको ठुलो मेला माइथान जात्राको नामले समेत परिचित यस मेलालाई न्वागी जात्राको नाममा बिशेष रुपमा लिने गरिएको छ । नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा भाकल पुरा गर्नको लागि मेलामा सहभागिता जनाउने गर्दछन् ।
ऐतिहासिक तथा पुरातात्विक महत्व
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।
प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेसीको मन्दिरमा ल्याइन्छ ।
रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहि आएको छ ।
अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाए पनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रद्धालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।

