
धादिङ कात्तिक २३ । धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ घर भई हाल काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका राम प्रसाद सापकोटा (कमल) नेकपा (माओवादी केन्द्र) को उद्यमी व्यवसायी महाशाखा जिल्ला कमिटीको अध्यक्षमा चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश कमिटिको कार्यालय सदस्य समते रहेका सापकोटाको अध्यक्षता ६५ सदस्यीय उद्यमी व्यवसायी महाशाखा जिल्ला कमिटी बनेको हो । यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा पनि यस कमिटीको अध्यक्ष कमल सापकोटा नै थिए भने सचिवमा चन्द्र रिजाल थिए । अहिले चन्द्र रिजाल एमालेको उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीको अध्यक्ष बनेका छन् ।
नेकपा (माओवादी केन्द्र) को उद्यमी व्यवसायीहरुको यो महाशाखा छुट्टै जिल्ला कमिटी हो । यसले अन्य जिल्ला कमिटीले जस्तै हैसियत राख्ने अध्यक्ष सापकोटा बताउँछन् । पार्टी प्रति इमान्दार र अनुशासित कार्यकर्ताहरु यस कमिटीमा रहेका छन् । पार्टी संगठन निमार्णमा यो जिल्ला कमिटीले महत्वपूर्ण भुमिका खेल्ने पनि सापकोटाले दावी गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धादिङका शालिन नेता पुष्प विक्रम मल्ल इन्चार्ज र धादिङ कै सापकोटा अध्यक्ष रहेको यस उद्यमी व्यवसायी महाशाखा जिल्ला कमिटीमा धादिङका, ठाकुर प्रसाद धरेल, ठाकुर सापकोटा, ऋषि नेपाल, गोपाल थापा, गोकुल सापकोटा, राजकुमार बस्नेत लगायत चयन भएका छन् ।

