
धादिङ भाद्र ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज एवम् बागमती प्रदेशका सांसद शालिकराम जमकट्टेलले माओवादी केन्द्र अब नेपालको पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
धादिङबेसी स्थित एक रिसोर्टमा शुक्रबार सम्पन्न भएको नीलकण्ठ नगरपालिका वडा नं ३ को भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता जमकट्टेलले अबको ठुलो पार्टी हाम्रो पार्टी हो । जनताका आधारभुत समस्या हामीले भन्दा अरुले गर्न नसक्ने प्रमाणित भएको समेत दावी गरेका थिए ।
वडा तह देखि नै पार्टी बलियो संगठात्मक संरचनामा अगाडी बढेको छ, पार्टीको आचरणमा रहि बैचारिक कार्यकर्ता बन्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । भेलाले राजकुमार श्रेष्ठ अध्यक्ष र बलराम खत्री सचिव रहने गरि २९ सदस्यीय वडा सम्मेलन आयोजक समिति गठन गरेको छ ।
उक्त भेलामा उपस्थित कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयको लागि जग्गा खरिद तथा भवन निर्माणका लागि रु ६ लाख ६०हजार १५१ स्वैच्छिक रुपमा आर्थिक सहयोग गरेका थिए ।
