आजदेखि प्रधानमन्त्री कप, पहिलो खेल आर्मी र गण्डकी खेल्दै

Avatar photo
Dhadingpost
माघ २, २०७७

काठमाडौं माघ २ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता आजदेखि टियु क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगिता माघ १७ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा चल्ने छ । प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । समूह बी मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । समूह चरणपछि शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छ । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ मा हुने छ । फाइनल माघ १७ मा हुने छ ।

गतवर्ष माघमा सुनसरीको इनरुवामा सम्पन्न मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगितापछि यो पहिलो राष्ट्रिय प्रतियोगिता हो । नेपाली पुरुष क्रिकेट टोलीले अन्तिम पटक गत फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० छनोट खेलेको थियो । त्यसयता भने पुरुष टोलीका खेलाडीले कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन् ।

यस पटक प्रधानमन्त्री कप छनोटमा जिल्ला हुँदै प्रदेश छनोट मार्फत खेलाडी छानिएको हुँदा युवा खेलाडीको बाहुल्याता छ । पहिलो संस्करणमा आर्मी र नेपाल पुलिसले उपाधि संयुक्त रुपमा बाँडेका थिए । वर्षाको कारण फाइनल प्रभावित हुँदा उपाधि बाड्नु परेको थियो । दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी फाइनलमा पुलिससँग ५ विकेटले पराजित भएको थियो ।

आज उद्धघाटन खेलमा त्रिभुवन आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । खेल ९ बजे टियु मैदानमा सुरु हुने छ । आर्मी विनोद भण्डारी र गण्डकी विपिन खत्रीको कप्तानीमा मैदान उत्रने छन् । उपाधिको दाबेदार आर्मी सहज जित निकाल्दै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । गण्डकी पनि आमीलाई राम्रो चुनौती दिन खोज्ने छ ।

आर्मीमा अन्तर्राष्ट्रय खेलाडीको बाहुल्याता छ । युवा ब्याट्सम्यान लोकेश बमले आर्मीका लागि डेब्यू गर्ने सम्भावना छ । स्पिनर सुशन भारी र साहब आलम बलिङ हतियार हुन् । यस पटक आर्मीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्ल भने छैनन् ।

यता गण्डकीमा युवा ब्याट्सम्यान अर्जुन कुमालको प्रर्दशन प्रतीक्षा छ । १४ वर्षिय कुमालले राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै छन् । छोटो समयमै राम्रो प्रभाव छोडेका अर्जुन आर्मीलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । विपिन खत्री, दीपेश खत्री र अमृत गुरुङ टोलीका अनुभवी खेलाडी हुन् । युवा अलराउन्डर सुबास भण्डारी पनि गण्डकीको आशा बोकेका खेलाडी हुन् ।

गण्डकीको टोली : विपिन खत्री (कप्तान), अशोक श्रेष्ठ (उपकप्तान), दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कंडेल, अर्जुन कुमाल, विशाल पौडेल, विष्णु पान्डे र दीनेश बुढा मगर

आर्मीको टोली : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, राजु रिजाल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया

हाम्रो खेलकुदबाट

x