
काठमाडौं मंसिर १७ । रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘सर्वसत्तावादको सङ्केत’ भन्दै आपत्ति प्रकट गर्नुभएको छ । सरकारको यस आपत्तिजनक एवम् निन्दनीय प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गरिने देउवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भन्नु भएको छ- ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’
नहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच बुधबार अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो ।
बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो भने, प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरेको थियो ।

