
धादिङ मंसिर १४ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा बहुलाहा कुकुरले आतङ्क सृजना गरेको सिद्धेश्वर माविका शिक्षक दिपक अर्यालले धादिङपोष्टलाई जानकारी दिनु भएको छ ।
शनिबार नलाङ आपृमा ९ जनालाई टोकेको बहुला कुकुरले अन्य कुकुरहरुलाई पनि पछि रेबिजको जोखिम बढेकोले स्थानीयहरु आतङ्कि बनेको अर्यालले बताउनु भएको छ ।
गाउँपालिकाका कृषि शाखा तथा पशु विकास शाखाका अधिकृत छविलाल गुरुङले आफुहरुलाई वडा अध्यक्षले कुनै जानकारी गराउनु भएको छैन । वडा अध्यक्षले जानकारी नगराएकोले आफुहरु अनविज्ञ रहेको बताउनु भयो ।
के हो रेबिज, यस्तो छ उपचार विधि
नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय जनाको मृत्यु हुने गरेको छ । यसरी मर्नेहरू अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार रेबिजको भाइरस अघिकांश कुकुरको टोकाइबाट सर्ने गर्छ ।
विशेषज्ञहरूका अनुसार रेबिज भाइरसको सङ्क्रमण भएपछि पनि समयमा उपचार गरे केही समयसम्म ज्यान जोगाउन सकिन्छ । त्यसैले समयमै उपचार गर्नुपर्र्ने उनीहरूको सुझाव छ ।
‘नेपालको कुरा गर्ने हो भने रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने धेरै व्यक्तिलाई जानकारी नै छैन । त्यसैले जो कसैले रेबिज विरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर बताउनु हुन्छ । । त्यसो त रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ । टोकेको १० दिनमा कुकुर मर्छ, त्यो समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाए निको हुन्छ ।
के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
उपचार विधि
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

