
धादिङ भाद्र १२ । धादिङ गोरखा चितवन र मकवानपुरमा रहेका चेपाङ समुदायले भाद्र महिनामा मनाउने छोनाम (न्वागी) पर्व कोरोना भाईरसको महामारिले प्रभावित भएको छ । चेपाङ समुदायले मनाउने यस पर्व यस पटक कोरोना भाईरस संक्रमणको जोखिमले प्रभावित भएको हो ।
सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । सूचीकृत आदिवासीमध्ये चेपाङ अति सिमान्तकृत समुदायमा पर्छ । चेपाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्वको रुपमा माईने यस पर्व मनाउन ०६२ सार्वजनिक विदाकाे माग गरिदै आएकाे तिलक चेपाङ बताउनुहुन्छ ।

नेपालको २६ वटा जिल्लामा ६८ हजार जनसंख्यामा रहेका चेपाङहरु मध्य धादिङमा २४ हजार बसोबास गर्दै आईरहेका छन् जसमा बेनीघाट रोराङमा १७ हजार, गजुरीमा ६ हजार र थाक्रेमा १ हजार रहेको तिलक चेपाङले धादिङपोष्टलाई बताउनु भयो ।
छोनाम (न्वागी) को विशेषता
छोनाम (न्वगी) हरेक वर्ष भदौं महिनाको प्रायः सोमबार पारेर मनाईन्छ । छोनाम पर्वमा कुलको पुजा गरिन्छ । विशेषषतः नयाँ सालको नयाँ अन्नबाली चढाउने पर्वको रुपमा छोनामलाई लिईन्छ । छोनाम पर्व मनाई सकेपछि मात्र चेपाङहरुले नयाँ अन्नबाली तथा फलफूल खान सुरु गर्छन् ।
चढाउने अन्नबालीमा खासगरी घैया धान, कर्कलो, निबुवा, पिँडालु, घिरौंला लगायत अन्य फलफूल हुन्छन् । चेपाङ समुदायमा यी अन्नबाली छोनाम नगरी खायो भने पितृ रिसायर गाउँमा अनिष्ट हुनुको साथै आउने वर्ष बाली राम्रो हुँदैन भन्ने विस्वास गरिन्छ ।

यस पर्वमा सबै दाजुभाई पान्दे (झाँक्री) को घरमा घैया धानको चामल, निबुवा, पिँडालु, घिरौंलाजाँड, रक्सी, कुखुराको भाले लिएर कुलपुजा गर्न जम्मा हुन्छन् भने आ आफ्ना छोरी चेलीहरुलाई निम्त्याईएको हुन्छ ।
चेपाङ पान्देहरुले नयाँ अन्नबाली भित्रिए पछि ती बालीहरु पितृहरुलाई पुकारेर रातभर फलाकेर चढाउँछन् र आफुहलाई कुनै रोगव्याधी, दुःख आइनपरोस् र आउने वर्ष अन्नबालीहरु सप्रियोस् भन्ने क्रममा छेरीचेलीले ल्याएको कोसेली (सगुन) खाई चेपाङ युवायुवतीहरु एक आपसमा दोहोरी गीत गाएर बस्छन् भने चेपाङ युवायुवतीहरुले यसै पर्व देखि मायाँ पिरती साट्ने गर्दछन् ।
