गोङ्गबुमा सुटकेशभित्र फेला परेको शव, रोल्पाका कृष्णबहादुर बोहराको

Avatar photo
Dhadingpost
साउन २७, २०७७

काठमाडौं साउन २७ । गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार सुटकेशभित्र फेला परेको बेवारिसे शवको प्रहरीले सनाखत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, सनाखत भएका व्यक्ति रोल्पा घुम्तीगढी निवासी ४५ वर्षीय कृष्णबहादुर बोहरा भएको खुलेको छ ।

नयाँबजारस्थित गार्मेण्टबाट कपडा खरिद गरी घुमन्ते व्यापार गर्दै आएका बोहराको सोही राति घटनास्थलनजिकै एक घरको तीन तलामाथि कोठामा हत्या भएको जानकारी महाशाखा प्रमुख दीपक थापाले दिनुभयो ।

‘शवको सनाखतसंँगै हत्या घटनास्थल र संलग्न व्यक्तिको पहिचान भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अभियुक्तको पक्राउपछि मात्र हत्याको कारण खुल्नेछ ।’ सुटकेशभित्र दुई हातसहितको आधा भाग फेला परेको केही समयपछि करिब तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।

आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । टाउको र खुट्टा कुकुरको सहायताले ५ सय मिटर टाढा प्लाष्टिकमा राखेर जेब्रामा हालेर फालेको अवस्थामा भेटिएको थियो । 

गोंगबु हत्या प्रकरणमा पक्राउ परेकी कल्पना शाही र मृतक कृष्ण बहादुर बोहोराबीच आर्थिक लेनदेनको सम्बन्ध रहेको प्रहरीले अनुसन्धाबाट अनुमान गरेको छ ।

अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार बोहोराले आफन्तसँग एक जनाले आफूलाई ५० लाख रुपैयाँ दिनुपर्ने भएको बताएका थिए । उनले उक्त व्यक्तिसँग धेरै प्रयासपछि सम्पर्कमा आएको र शनिबार भेट्ने तय भएको पनि आफन्तलाई बताएको प्रहरी स्रोतले जनाएको छ ।

कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बस्दै आएको खुलेको छ । शनिबार गेस्ट हाउसका मालिकलाई आफूले खाना बाहिर खाने र केहि दिन नआउनसक्ने भन्दै बाहिर निस्केको प्रहरीले बताएको छ ।

प्रहरीले होटलबाट बोहोराको नागरिकता, एटीएम कार्ड लगायत पनि बरामद गरेको छ । महिला र बोहोराको सम्बन्ध लेनदेन मात्र हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

x