
काठमाडौं साउन २४ ।संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिन थालेका छन् । सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो । प्रदेश र स्थानीय तहले पनि केही अस्पताल व्यवस्था गरेका छन् । ६ हजार तीन सय ३० ‘एक्टिभ केस’मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी तीन हजार नौ सय १९ अस्पतालबाहिर छन् ।
प्रदेश २ मा मात्रै १२ सय नौजना अस्पतालमा, उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित छन् । प्रदेश १ मा दुई सय ८१, उपत्यकाबाहेक बागमती प्रदेशमा एक सय ३४, गण्डकीमा एक सय २१, प्रदेश ५ मा एक सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा एक सय १३ संक्रमित अस्पतालमा छन् ।
काठमाडौं उपत्यकामा सरकारले तोकेका कोरोना उपचार हुने ६ वटा अस्पताल छन् । तीमध्ये दुईवटामा क्षमताभन्दा बढी संक्रमित पुगिसकेका छन् । एक सय २० बेड क्षमता भएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक सय २१ र आठ बेड क्षमता रहेको शिक्षण अस्पताल महाराजगन्जमा नौ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० बेड क्षमता छ, त्यहाँ शुक्रबारसम्म ४७ संक्रमितको उपचार भइरहेको छ । सय बेड क्षमताको पाटन अस्पतालमा ६९, ६० बेड क्षमताको कीर्तिपुर आयुर्वेदिक अस्पतालमा ५५, ९० बेड क्षमताको काठमाडौं मेडिकल कलेजमा ८१ र आठ बेड क्षमताको धुलिखेल अस्पतालमा ६ संक्रमितको उपचार भइहरको छ ।
सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि क्षमताभन्दा बढी संक्रमित पुगेका छन् । ४० बेड क्षमताको यो अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ । त्यस्तै, २२ बेड क्षमताको मेची अञ्चल अस्पतालमा २२ संक्रमित नै उपचाररत छन् ।
देशभरका कुन अस्पतालमा कति संक्रमितको उपचार भइरहेको भन्ने आधिकारिक तथ्यांक सरकारसँग पनि छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा सबैतिरका अस्पतालमा उपचाररतहरूको तथ्यांक आउन नसकेको बताए ।
१८ जिल्लामा निषेधाज्ञा
कोरोना संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाएको छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेका छन् ।
नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार पर्सा, बारा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको छ । त्यस्तै, धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा स्थानीय प्रशासनभन्दा स्थानीय तहले लकडाउन गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । नयाँ पत्रिका दैनिकले खवर प्रकाशित गरेको छ ।

