युएईबाट एक हप्तामा १८ सय नेपाली स्वदेश फर्किए

Avatar photo
Dhadingpost
असार १३, २०७७

हरि नेपाली
युएई असार १३।
युएईबाट यो एक हप्ता भित्र १८ सय नेपाली चार्टेड उडान मार्फत स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र अवस्थामा रहेका नागरिकलाई चार्टर्ड उडान मार्फत स्वदेश फर्काउने सरकारको नीति अनुरुप दूतावासले उनीहरुलाई स्वदेश फर्काएको हो ।

गत जुन १९ तारीख बिहान ४ बजे नेपाल एअर्लाइन्सको पहिलो चार्टर्ड उडान मार्फत १ सय ४८ जना नेपाली युएई बाट स्वदेश फर्किए संगै जुन २६ तारीख सम्म नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअरअरेबियाका १० चार्टर्ड उडान मार्फत १८ सय नेपाली युएईबाट नेपाल फर्किएको दूतावासले जनाएको छ ।

सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, युएइमा लामो समय देखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्किएका हुन ।

दूतावासले युएईबाट नेपाल फर्किन चाहने नेपाली संख्या १७ हजार ३ सय माथी रहेको भनी परराष्ट्रलाई सिफारिस गरेको थियोे ।जसअनुसार पहिलो चरणमा परेकाहरुको नियमित उद्दार सुरु भएको छ ।

नेपाल सरकारले लामो समय देखि रोजगारी गुमाएका, रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरुलाई निस्शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितहरुलाइ समेत पहिचान गरि छिट्टै स्वदेश पठाइने दूतावास स्रोतको भनाइ छ ।