
धादिङबेसी असार १ । धादिङको नीलकण्ठ नगरपाली वडा नम्बर १४ स्थित धुवाँकोटमा सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै २५० भन्दा बढी नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
नेकपा निकट पूर्व एमाले धुवाँकोटका अध्यक्ष एवम् निर्वाचित वडा सदस्य शिव कुमार श्रेष्ठ, पूर्व माओवादी धुवाँकोटका सचिव खड्क बहादुर तामाङ र नेकपा नीलकण्ठ नगरकमिटि सदस्य कृष्णकुमारी घिमिरेको नेतृत्व भङेरीस्थान र अम्बोटेबाट २५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रबेस गरेको नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले धादिङपोष्टलाई बताए ।

नेकपाबाट निर्वाचित वडा अध्यक्ष फन्द्रा तामाङ बीचको अन्तरविरोधका कारण जनयुद्धकालमा तात्कालिन माओवादी आन्दोलनको मुठ भेडमा समेत विचलित नभै धुँवाकोटमा राजनीति गर्दै आएका शिव कुमार श्रेष्ठ र पूर्व माओवादीका खड्क बहादुर तामाङ लगायत २५० भन्दा बढी स्थानीय सहित नेपाली काँगेसका प्रवेस गरेको हुन सक्ने नेकपा नीलकण्ठ नगर कमिटिका एक सदस्यले बताए ।
ती सदस्यका अनुसार उनीहरुले आफुहरु पार्टी कमीटीबाटै निरन्तर अन्यायमा परेको र वडा अध्यक्षले दुस्मनको व्यवाहार गर्ने गरेको गुनोसो पटक-पटक जिल्ला पार्टीमा राखेको र पार्टीले कुनै सुनुवाई नगरेपछि काँग्रेस प्रवेश गरेका हुन् ।
नव प्रवेसीहरुलाई नेपाली काँग्रेसका सभापति रमेश धमलाले टिका र खादा लगाई पार्टी प्रवेस गराएका थिए भने पार्टी प्रवेस कार्यक्रममा पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना लगायतका नेताहरुको सहभागिता थियो ।

