
म एक कोरोना पोजेटिभ (निको भैसकेको) ब्यक्ति हुँ । कोरोनाले महामारीको रुप लिईरहेको वर्तमान अवस्थामा अन्य ब्यक्तिहरुको लागी पनि सचेतना एवं सूचना सम्प्रेषण गर्ने उदेश्यले आज तपाईहरु समक्ष आफ्नो मनको कुरा सेयर गर्न गैरहेको छु ।
म अहिले युएई आबुधाबी को अल अहेल्या हष्पिटलमा कार्यरत छु । विश्वभरि फैलिएको महामारी कोरोना भाइरसको संक्रमणले मेरो कर्मभूमी लाई पनि छोडेको छैन । मेरो अस्पतालमा ड्युटी भएकोले विदा थिएन र नियमित काममा गईरहेको थिए ।
काममा रहदा धेरै मानिसहरुसंग सम्पर्क हुने, भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी अपनाइरहेकै थिए । सावधानी अपनाउदा अपनाउदै पनि मलाई संक्रमण भएको पत्तै भएन । केही दिनदेखि शारिरीक अस्वस्थता महसुस भएपछि तातोपानी पिउने, सिटामोल खाने गरिरहेको थिए । तर त्यति गर्दा पनि ज्वरो आउने, घॉटी दुख्ने, शरिरमा तागत नभएर कमजोर अनुभव हुने र ऑखा पोल्ने हुन थाल्यो । त्यसपछि अप्रिल २१ तारिखका दिन चेकजॉच गराउनको लागि भनेर अस्पताल गए ।
अस्पतालले Covid-19 परीक्षणको लागि स्वाव लिएर १४ दिन होम क्वारेन्टाइनमा बस्नु भनेर विदा लेखिदियो । फर्केर घरमा अलग्गै बस्न थाले, कम्पनीको मेनेजरलाई पनि जानकारी गराए । त्यसको ३ दिनपछि अबुधावीको स्वास्थ्य विभागबाट मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी आयो ।
यस्तो अकलेपनीय नतीजाले एकछिन त केही सोच्नै सकिन । तर मानसिक रुपमा कमजोर भएर रोगसंग लड्न सकिदैन भन्ने लागेर आफैलाई सकारात्मक बनाएँ, आत्मबल बलियो बनाएँ । मेरो परिवारपनि संगै भएकोले उनको साथ र हौसलाले मलाई थप आत्मबल बढायो ।
यो सामान्य रुघा खोकी जस्तै हो यस्लाई सजिलै जित्न सक्छु भन्ने आत्मविश्वास लिए । अनि घरमा बुबा, छोराहरु आफन्तहरुलाई खबर गरेर मलाई कोरना भाईरस पोजेटिभ देखायो म हस्पिटल भर्ना हुन जादै छु, मेरो स्वास्थ्य सामान्य छ केही चिन्ता नलिनु भनेर सान्त्वना दिए ।
अस्पताल बसाईको लागि श्रीमतिले अत्यावश्यक सामानहरु तयार पारिदिईन र सुटेकस लिएर अस्पताल भर्ना हुन गए । म अस्पतालको कर्मचारी नै भएकोले आइसोलेसन बेड पाउन थप सहज पनि भयो ।
४ दिन (२४-२८ अप्रिल ) सम्म अस्पताल बसेर सबै चेकजाँच गरेर स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएपछि कम्पनीले व्यवस्था गरेको क्वारेन्टाइनमा अस्पतालको एम्बुलेन्स नै लग्यो । अस्पताल बसुञ्जेल र क्वारेन्टाइनमा समेत हेरचाह एकदमै राम्रो पाए, आफ्नै घर परिवारसंगै बसे जस्तो अनुभव भएको थियो ।
मेरो अनुभवको आधारमा भन्नुपर्दा कोरोना भाईरस भाईरल रुघा लाग्दा लाग्ने भाईरस जस्तै सामान्य भाईरस हो । नेपालीमा भनिन्छ नी “बनको बाघले खाओस नखाओस मनको बाघले खाईसक्यो” त्यस्तै कोरोना लाग्यो भने त मरिन्छ भन्ने एककिसिमको मानसिक डर र हाउगुजी जनमानसमा फैलिएको छ । तर यो भाईरस लाग्दैन मरिन्छ भन्ने होईन, डराऊन पर्दैन, आत्मबल बलियो बनाएर स्वास्स्थ्य सम्बन्धी कुराहरुमा राम्रोसंग ध्यान दिएमा कोरोना लाई सहजै जित्न सकिन्छ ।
यो भाईरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै संक्रमण हुने भएर अलि बढी सतर्क चाही हुनैपर्छ । मेरो शरिरमा पनि यो भाईरस कतैबाट संक्रमण भई पोजेटिभ देखिएको थियो । मानब शरिरमा भाईरस संक्रमण हुदा व्यक्ति अनुसार फरक-फरक लक्षण देखिन्छ ।
मैले म जस्तै कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बस्ने अरु बिरामी संग सोध्दा फरक-फरक लक्षण भएको पाएको छु। यो भाईरसले शरिरमा रोगप्रतिरोधात्मक क्षमता ( immunity power) बलियो भएका र सामन्य स्वास्थ्य भएकालाई खासै समस्या बनाउदैन ।
जो शारिरीक रुपमा कमजोर छ, पहिलेदेखि नै निमोनियाको समस्या, मुटुको समस्या, प्रेसरको समस्या, सुगरको समस्या, दम(Asthma) को समस्या र मृगौलाको समस्या भएकालाई धेरै नै समस्या बनाउन सक्छ ।
त्यसैले यो भाईरस बाट बिजय प्राप्त गर्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक पर्ने प्रोटिनयुक्त खाने कुराहरु खानु पर्छ । म मेरो अनुभवको आधारमा निम्न सुझाव-सल्लाहहरु बाड्न चाहन्छु दिन ।
यदि संक्रमण भएपनि निम्न कुराहरुमा ध्यान दिन सके चाडैं रोगबाट सहजै विजय प्राप्त गर्न सकिन्छ ।
१. दिनमा कम्तीमा ४ लिटर देखी ६ लिटर सम्म तातो पानी पिउने, सार्बजनिक स्थलमा नजाने र जानै परे भौतिक दुरी कायम राख्ने, नियमित मास्क (Face Mask) ,सानिटाईजर (Sanitizer)तथा पन्जा (Gloves) प्रयोग गर्ने । साबुनपानीले हॉत धोईरहने ।
२. सम्भव भएसम्म दैनिक बिहान ८-१० बजे भित्र कम्तीमा आधा घण्टा घाममा बस्ने यसो गर्दा शरिरलाई भिटामिन डी (Vitamin-D) प्राप्त हुन्छ ।
३. सकभर आफ्नो काम आफै गर्ने । अत्यावश्यक काममा बाहेक अनावश्यक रुपमा बाहिर ननिस्कने ।
४. नर्मल रुम तापक्रममा बस्ने
५. दैनिक ४-५ पटक पानी उमालेर तातो पानीको बाफ लिने ।
६. सकभर A/c को नजिक नबस्ने
७. अत्याधिक रुपमा भिटामिन सी (Vitamin-C) पाईने ऑप, सुन्तला, एभोकाडो, कागती, मेवा जस्ता फलफुल सेवन गर्ने । भिटामिन सी को क्यापसुल पनि लिन सकिन्छ ।
८. आत्मबल बढाउने, आफन्तहरुसंग निरन्तर सम्पर्कमा रहने ।
९. दैनिक सामान्य शारिरीक व्ययाम (physical Exercise) गर्ने ।
१०. जीरा, मरिच, अदुवा पानी ,तातो पानीमा मह र कागती राखेर पिउने । दैनिक ४-५ पिस काजु (Cashew nuts) बदाम (Almond) जस्ता पौष्टिक खाने कुरा खाने, समय समयमा तातो सुप पिउने, खाना खादा अनिवार्य २ पोटी लसुन खाने र झोलिलो खानेकुरामा बढी जोड दिने ।
११. मादक पदार्थ साथै चुरोट तथा सुर्तीजन्य बस्तु सेवन नगर्ने ।
१२. खोकी लागेमा कफ सिरफ पिउने, ज्वरो आएमा खाना खाएर सिटामोल लिने ।
१३. एकान्तमा बस्ने अरु मान्छेको नजिक नजाने, खोकी वा हाच्छियु लागेमा रुमालले नाक मुख छोप्ने ।
१४. नाक र मुखबाट लामो सास लिएर केही समय ५-६ सेकेन्ड रोकेर बिस्तारै सास फाल्ने, यसो गर्दा फोक्सो लाई राम्रो हुन्छ । सुत्दा खेरी घोप्टो वा कोल्टो परेर सुत्ने यसरी सुत्दा फोक्सोलाई सहयोग पुग्छ ।
१५. घाँटी दुखेको छ भने तातोपानीमा नुन राखेर सहन सक्ने गरे कुल्ला गर्ने यसो गर्दा घॉटीको दुखाईबाट आराम मिल्नुको साथै घॉटीमा भएका कीटाणुहरु समेत मर्छ ।
१६. बिहान उठेर फ्रेस भएपछि १ गिलास तातो पानीमा २ चम्चा मह र कागती निचोरेर (Hot Lemon With Honey) पिउने , चिसो खाने कुरा, फ्रिजमा राखिएका खानेकुरा, दही, मोही जस्ता चीजहरुको सेवन नगर्ने ।
१७. क्वारेन्टाईनमा बस्दा आफुलाई मनपर्ने तथा कमेडी फिल्महरु हेर्ने, आफन्तहरुसंग हासीखुसी कुरा गर्ने, अनावश्यक समाचारहरु नहेर्ने, आफुलाई व्यस्त राख्दा तनाव कम हुन्छ ।
यसरी दैनिक रुपमा माथि भनिएका गाईडलाईनहरु फलो गर्नु भयो भने कोरोना पोजेटिभ आएको १०-१४ दिन सम्ममा नेगेटिभ आउन सक्छ । कहिलेकाही कोरना संक्रमण भएको ब्यक्तिलाई छात्ती दुख्ने र श्वासप्रश्वासमा अप्ठ्यारो पनि हुन सक्छ । यस्तो समस्या आएमा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क गरेर डाक्टरसंग परामर्श गर्नुपर्दछ ।
कोरोना संक्रमण भएका व्यक्तिलाईलाई परिवार, साथीभाई तथा आफन्तहरुले घृणा होईन माया र हौसला दिनुहोस तपाईको माया र हौसलाले अबश्य तपाईको आफन्त/साथीले कोरोनासंगको लडाइँ जित्नु हुनेछ र नयॉ जीवन पाउनु हुनेछ । मैले सबैको माया, हौसला र साथ पाएर १२ औं दिनमा पहिलो र १४ औं दिनमा दोस्रो टेस्ट पनि नेगेटिभ आएपछि मैले कोरोनालाई जितेको छु । र यो जित संगै नियमित रुपमा अफिस जान थालेको छु ।
कसैले थप सल्लाह वा अनुभव लिन चाहनुहुन्छ भने मलाई +971503231985 मा सम्पर्क गर्न पनि सक्नु हुनेछ । धन्यवाद ।

