
धादिङबेसी जेष्ठ १० । कोभिड-१९ को संकटका कारण भारतबाट धादिङ घर हिडेका तर भारतीय सिमानामा रोकिएका २१६ जना शनिबार धादिङ आएका छन् ।
कोरोना भाईरसका कारण भारतमा रोजगारी गुमेका उनीहरु घर आउने क्रममा भारतीय सिमाना पार भए सँगै विभिन्न क्वारेन्टाईनमा बस्न पुगेका २१६ जनालाई धादिङका स्थानीय तहले जिल्ला प्रशासन सँग समन्वय गरि धादिङ ल्याएका हुन् ।
२१ दिन क्वारेन्टाईनमा बसेको र आरडिटी परिक्षणमा नेगेटिभ आएको प्रमाण पत्रसँगै बोकेर आएका उनीहरुलाई होम क्वारेन्टाईनमा बस्ने गरि घर–घर पठाइएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।
नीलकण्ठ नगरपालिकाले ८८ जनालाई लिन ३ वटा बस शुक्रबार भैरहवाको भारतीय सिमानामा पठाए पनि ८४ जना मात्र आएका छन् ।
८४ जना मध्य २० जना नुवाकोटका, १० जना नेत्रावती डब्जोङ र ३ जना गल्छी गाउँपालिका छन् । अन्य भने नीलकण्ठ नगरपालिका हुन्, उनीहरु सबैलाई नीलकण्ठ नगरपालिकाले खर्च व्यहोर्ने गरी ल्याएको हो । आरडिटी परिक्षणमा नेगेटिभ आएको र क्वारेन्टाईनमा बसेर आएको हुँदा उनीहरुलाई आजै घर–घर पठाईने स्वास्थ्य संयोजक विष्णु रिजालले धादिङपोष्टलाई बताए ।

यस्तै सिद्धलेक गाउँपालिकाले पनि भारतीय सिमानामा क्वारेन्टाईनमा बसेका २३ जनालाई घर ल्याएको छ ।
यसअघि भैरहवाबाटै नीलकण्ठ नगरपालिकाले बस पठाई जेष्ठ ६ गते गल्छीको ६ जना सहित ३८ जनालाई घर ल्याएको थियो ।
यस्तै बिहिबार ३ जना र शुक्रबार ३ जना गरि ६ जना सुनौलीबाट काठमाडौ आएको बसबाट मलेखुमा ओर्लिएका नेत्रावती डब्जोङका उनीहरुलाई मलेखुबाट नेत्रावती डब्जोङ गाउँपालिकाले घर सम्म पुर्याएको स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले बताए ।
