
काठमाडौं बैशाख २९ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूका ‘रमाइलो पढाइ’ मोबाईल एप सार्वजनिक गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा निर्माण गरिएको ‘रमाइलो पढाइ’ मोबाईल उप शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने केन्द्र जनाएको छ ।
केन्द्रले आइतवार एक सूचना जारी गर्दै रमाइलो पढाइ मोबाइल एप अब गुगल प्ले स्टोरमा उपलब्ध रहेको जनाएको हो ।
लकडाउनको समयमा आफ्ना नानीबाबुहरुको पढाईलाई निरन्तरता दिन तयार पारिएको ‘रमाइलो पढाइ’ एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथाहरू र कविताहरूलाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तकहरूका साथ समावेश गरिएका केन्द्रले जनाएको छ ।
केन्द्रले जारी गरेको सूचना अनुसार मोवाइल एपमा रेडियो कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकहरूलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।
यस ‘रमाइलो पढाइ’ मोबाइल एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयहरूलाई जानकारी गराई प्रधानाध्यापक, शिक्षक, आधारभूत तह प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यहरू मार्फत दौँतरी शिक्षक अभिभावकहरू सहित प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकलाई व्यापक प्रयोग गर्न–गराउन मुलुकभरका ७७ वटै शिक्षा विकास समन्वय इकाइलाई केन्द्रले निर्देशन दिएको छ ।

