आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

Avatar photo
Dhadingpost
बैशाख १३, २०७७

काठमाडौं बैशाख १३ । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा वीरगञ्जकी एक महिलाले चर्खामा धागो कात्दै गरेको फोटो सहित समाचार प्रकाशित भएको दिन ।

नेपालको फोटो पत्रकारिताको इतिहासमा पहिलो पटक पत्रिकामा प्रकाशन भएको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकार दिवसका रुपमा मनाउने गरिन्छ ।

विगत केहि वर्ष देखि राष्ट्रिय फोटो पत्रकार समुहले फोटो अवार्ड कार्यक्रमको आयोजना गरि दिवस मनाउँदै आएपनि यस बर्ष कोरोना भाईरसका कारण मुलुक लकडाउन भएकोले सार्वजनिक कार्यक्रम हुन नसकेको महासचिव प्रदिपराज वन्त बताउँछन् ।

नेपालका फोटो पत्रकारहरुलाई संगठित गरी एकतावद्ध गराउने उद्देश्यले २३ वर्ष अघि स्थापित राष्ट्रिय फोटो पत्रकार समुह नेपालको पहिलो फोटो पत्रकारहरुको एकमात्र आधिकारीक संस्था हो ।

यस दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह विज्ञप्ती प्रकाशित गरि सम्पूर्ण फोटो पत्रकार, फोटो ग्राफर र यसमा पत्रकारितामा रुचि राख्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ- फोटो पत्रकारहरुको हक, अधिकार, वृत्ति विकासका लागि विभिन्न कार्यहरु गर्दै आएको कुरा अवगत नै छ । त्यस संगसंगै नेपाली फोटो पत्रकारिताको इतिहासको जगेर्ना गर्दै वर्तमानमा यसलाई जीवित राख्ने उद्देश्यले यो दिवसलाई निरन्तरता दिदै आइएको हो । यसवर्ष विश्वव्यापी फैलिएको कोराना भाइरस ९कोभिड–१९० संक्रमणको महामारीबाट नेपाल पनि अछुतो छैन । यसै कुरालाई मध्यनजर गर्दै देशमा अहिले बन्दाबन्दी९लकडाउन० जारी राखिएको छ । महामारी फैलिएको असहज परिस्थितिमा सरकारले चालेका कदमहरुलाई हामी सवैले सहयोग गर्नुको विकल्प छैन । अर्कातिर हामी आफै पनि संक्रमणबाट जोगिनु पर्छ र अरुलाई पनि जोगाएर देशलाई क्षति हुनबाट जोगाउनु हामी सबैको साझा दायित्व हो । यही कुरालाई मनन गर्दै विगतका वर्षहरुमा दिवसको अवसरमा गरिने सम्पूर्ण कार्यक्रमहरु आयोजना गर्न असमर्थ भएका हौँ ।

संक्रमण फैलिन नदिन सरकारले चालेको कदम अर्थात लकडाउनका कारण देशमा ज्याला मजदुरी गरी खानेहरुलाई समस्या परेको कुरा सबैमा अवगत छ । यस्तो अवस्थामा राष्ट्रिय फोटो पत्रकार समूहले पनि सामाजिक दायित्व महसुस गर्दै समस्यामा परेकाहरुलाई राहत वितरणको कार्यक्रमहरु जारी राखेका छौं । यस्तो विषम परिस्थितिमा यस दिवसको अवसर पारेर ललितपुरस्थित इँटा भट्टामा काम गर्ने झण्डै ३०० बढी मजदुरलाई राहत वितरण गर्न पाउँदा सम्पूर्ण फोटो पत्रकारहरु गर्वले हर्षित छौ ।

साथै यस्तो लकडाउनको अप्ठ्यारो अवस्थामा पनि कर्तव्य र जिम्मेवारीबाट विमुख नभै दिनरात कार्यक्षेत्रमा खट्नुहुने सम्पूर्ण फोटो पत्रकार मित्रहरुमा यो संस्था हार्दिक धन्यवाद सहित सम्मान प्रकट गर्दछ । यसरी कार्य क्षेत्रमा खटिदा आफ्नो सुरक्षाको पनि ख्याल गरी अगाडी बढन हार्दिक अनुरोध गर्दछौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिनलाई पालना गरी फोटो खिच्न तथा समाचार रिपोर्टिङ गर्न अनुरोध गर्दछौं साथै कार्यक्षेत्रमा खटिदा कुनै किसिमका समस्या परे संस्थाले अफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।

x