
धादिङ चैत्र २३ । धादिङबेसी सदरमुकाम आसपासको क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको बैठक आईतबार सम्पन्न भएको छ ।
नगरपालिका परिषरमा दुरीकायम गरि बसेको कार्यपालिकाको बैठकले १ करोडको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गर्ने देखि निःशुल्क उपचार सम्मका निर्णय गरेको छ ।
निर्णयहरु यस्ता छन्
१. विश्ववापी रुपमा फैलिइरहेको कोभिड–१९ (नोबेल कोरोना भाइरस) रोकथाम नियन्त्रण, सचेतना तथा आवश्यक ब्यवस्थापनका लागि नीलकण्ठ नगर कार्यपालिकाको आज बसेको बैठकले १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गरेको छ ।
यस कोषबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खाना/खाजाको प्रवन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराइनेछ भने जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकताअनुसार सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराइनेछ ।
कोषमा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबाट १ लाख १४ हजार रकम जम्मा गरिएकोछ । नगरपालिका अन्तरगतका सम्पूर्ण कर्मचारीहरु (स्वास्थ्यकर्मी र शिक्षकहरु समेत) ले केन्द्र सरकारको निर्णय अनुसार रा. प. द्वितीय र तृतीय श्रेणी वा सो सरहका कर्मचारीहरुको पाँच दिनको र सहायकस्तर र श्रेणीविहिन कर्मचारीहरुको तीन दिनको तलव बराबरको रकम जम्मा गर्नुका साथै उक्त कोषमा सहयोग स्वरुप रकम जम्मा गर्न चाहने व्यक्ति तथा संघसंस्थालाई सहायता रकम जम्मा गर्न आह्वान गर्ने समेत निर्णय भएकोछ ।
२. महामारीका बेला नगरक्षेत्रमा आर्थिक तथा भौतिक सहायता गर्न चाहने ब्यक्ति वा संघ संस्थालाई नगरकार्यपालिका संग अनुमति लिएर मात्र गर्ने गरि एकद्धार प्रणाली लागू गर्ने निर्णय भएकोछ ।
३. लकडाउनका कारण अप्ठेरोमा परेका नगरक्षेत्रका श्रमिक, असहाय तथा रोजीरोटीको समस्या भएका ब्यक्तिहरुलाई १४ वटै वडामा संकलित विवरणको आधारमा विहान बेलुका निःशुल्क भोजनको ब्यवस्था गर्ने निर्णय गरेकोछ । आवश्यक खाद्यान्न तथा अन्य प्रवन्ध गर्न नगर विपद ब्यवस्थापन समितिका संयोजक विष्णु नेपालीको संयोजकत्वमा स्वास्थ संयोजक र लेखा प्रमुख सदस्य रहेको ३ सदस्यीय कार्यदल समेत गठन गरिएकोछ । लक्षित श्रमजिवी तथा असहायहरुलाई खाद्यान्न उपलब्ध गराउन चाहने ब्यक्ति तथा संघ संस्थालाई उक्त कार्यदल मार्फत सहयोग गर्न अपिल गर्ने निर्णय समेत आजको बैठकले गरेकोछ ।
४. लकडाउनको अवधीको असहज परिस्थितिमा सार्वजनिक विदाका दिनहरुमा समेत निरन्तर काममा खटिने स्वास्थ्यकर्मीहरु, दैनिक कार्यालयमा आई कामकाज गर्ने कर्मचारीहरु (करारमा कार्यरत समेत) र फोहोर व्यवस्थापनमा कार्यरत जनशक्तिलाई मासिक खाइपाई आएको तलव÷पारिश्रमिकको पचास प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय भएकोेछ ।
५. विदेशबाट आएका व्यक्तिहरुलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्न आव्हान गर्ने ।
Photo credit: Tilak Thapa Magar

