
धादिङ चैत्र ११ । नेपाल सरकारलेकोरोना भाईरसको संक्रमणबाट जोगिन देशभर लकडाउन गरेको छ ।
मंगलबार बिहान ६ बजेदेखि देशभर सुरुभएको लक डाउनमा घर बाहिर निस्किन मिल्दैन । सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सरकारले आव्हान गरेको छ ।
धादिङबेसीमा सदरमुकाम पनि बिहानै देखि सुनसान बनेको छ । सुरक्षाकर्मी र संचारकर्मीहरु सडकमा देखिएका छन् भने केहि सर्वसाधरणहरु गन्तव्य सम्मका लागि यात्रा गरि रहेको भेटिए ।
लकडाउनमा के गर्न पाईन्छ ?
लक डाउन भएको अवस्थामा औषधि उपचार र खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा मात्रै घरबाट बाहिर निस्किन मिल्छ । तर अनावश्यक काममा बाहिर निस्किएमा सरकारले कारवाही गर्न सक्छ । लकडाउनका समयमा स्वास्थ्य, सुरक्ष, खाद्यवस्तु, खानेपनी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा सुचारु हुनेछन् ।
लकडाउनमा के गर्न पाईदैन ?
लक डाउनका बेला सवारी साधन सञ्चालन गर्न पाइने छैन । नियम उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्ने चेतावनी सरकारले दिइसकेको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
लकडाउनका बेला सबै आन्तरिक उडानहरु बन्द हुने छन् । सरकारी कार्यलय सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिन सक्ने छन् ।
औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीलाई बिदा दिइने छ । वसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्ति गर्ने व्यवस्था मिलाउन पाउनेछन् । कालाबजारी गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने भएको छ ।
