
काठमाडौं असोज ९ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशनसम्बन्धी तयारीका काम तदारुकताका साथ अघि बढी रहेका छन् । सम्मेलनको मूल विषय ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मा आधारित भएर विभिन्न शत्रको आयोजना गरिने गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भुषण घिमिरेले जानकारी दिए ।
यसै सन्दर्भमा अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसीको महाधिवेशन सम्पन्न भई अन्तरराष्ट्रिय महाधिवेशन मतदान अधिकारसहितका प्रतिनिधि चयनको कार्य भइरहेका छन् । अन्तरराष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधिको नामावली जसमा कूल मतदाताको सङ्ख्यामा २० प्रतिशत थप गरी यही ३० सेप्टेम्बरसम्म सचिवालयमा उपलब्ध गराउनुपर्ने गरी निर्णय गरेको छ र उक्त निर्णय राष्ट्रिय समन्वय परिषद्लाई गराइसकिएको छ ।
यसपछि एनसिसीले पठाएका प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिई मतदाताको नामावली प्रकशित गरिने भएको छ । त्यसपछि निर्वाचनको औपचारिक प्रक्रिया मनोनयन, दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान र मतगणना गरिने छ । यी सम्पूर्ण प्रक्रिया १७ अक्टोबरभित्र पूरा हुने जनाइएको छ ।
यस अधिवेशनमा बेल्जियम निवासी धादिङ बुढाथुम पुख्र्यौली घर भएका सामाजिक अभियान्ता लोकदाहालले सहकोषाध्यक्ष पदको लागि उम्मेदवारी दिने भएका छन् ।

