आज वेपत्ता दिवसः धादिङमा अझै २७ जना वेपत्ता

Avatar photo
Dhadingpost
भदौ १३, २०७६

धादिङ भाद्र १३ । व्यक्ति वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी धादिङका जिउँदा सहिदका रुपमा चिनिने नेता रामबहादुर भण्डारीले वेपत्ता खोजविनमा सरकार चुकेको बताएका छन् ।

जनयुद्धमा राज्य पक्षबाट दुई छोरा वेपत्ता भएका नेता भण्डारीले हामीले वषौं देखि कि सास चाहियो कि लास चाहियो भन्दै आयौं, हिजो राजनीतिक अस्थिरताका कारण वेपत्ता खोजविनमा प्रभावित भयो, चित्त बुझायौं, तर आज दुई तिहाईको सरकार छ, कस्ले रोक्यो ? वेपत्ता खोजविन गर्न नेता भण्डारीले सरकारको आलोचना गरे ।

धादिङपोष्ट सँग कुरा गर्दै भण्डारीले मेरा दुईभाई छोरा मात्र हैन धादिङबाट २७ जना वेपत्ता भएका छन् हामीले घाँटी सुक्ने गरि खोई हाम्रो आफन्त भनेर चिच्याएको बर्षौ भैसक्यो आफ्नै पार्टीको सरकार हुँदा पनि न्याय पाउन नसक्नु विडम्बना भएको बताए ।

वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य समेत रहेका नेता भण्डारीले २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरिँदा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनिए पनि १३ वर्ष विति सक्यो, वेपत्ता छानविनका रोकिनु पर्ने कारण केहि नभएको भन्दै अव पुनः देशभरका वेपत्ता परिवार एक भएर आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए ।

नेपालमा १० वर्ष सम्म चलेको जनयुद्धको क्रममा राज्य र विद्रोही तर्फबाट देशभर १ हजार तिन सय भन्दा बढि मानिस बेपत्ता रहेका छन्, भने धादिङबाट मात्र २७ जना अहिले पनि वेखवर छन् ।

सन् १९८१ मा अमेरिकी मुलुक कोस्टा रिकाबाट यो दिवस मनाउन थालिएको हो । नेपालमा विगतमा भएको दश वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा ठूलो संख्यामा नागरिक बेपत्ता पारिए सँगै यो दिवस मनाईदै आएको छ ।