श्रमिक सहकारी अभियानः संघीय नेपालको आर्थिक समाजिक मार्ग चित्र

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७६

समाजवाद उन्मुख अर्थव्यवस्था रहने भन्ने कुरा संबिधानको मूल सिद्धान्तका रुपमा उल्लेख गरिएको हाम्रो समाजलाई आर्थिक सामाजिक विकासमा आधारभूत तहका नागरिकलाई सक्षम बनाउने, उनीहरुको आत्मनिर्भर आर्थिक गतिविधिको वातावरण बनाउने, समाजिक सुरक्षााको कार्यक्रमलाई प्रभावकारी बनाउने, रोजगारी तथा स्वरोजगारीको बृद्धि गर्ने आदि कुराहरु प्राथमिकतामा राखिनु पर्ने कुरा हुन ।

विभिन्न काममा कार्यरत औपचारिक तथा अनौपचारिक रुपमा श्रम गर्ने श्रमिकहरुको जीवनलाई र उनीहरुको परिवारलाई व्यवस्थित बनाउने कार्यक्रम नै समाजवाद उन्मुख भने पनि लोकतन्त्त भने पनि पहिलो आवश्यकता हो – यसका लागि श्रमिक सहकारी अभियान कार्यक्रम आधारभूत कार्यक्रमका रुपमा लिन सकिन्छ ।

श्रमिक सहकारीको सूरुआत र यसलाई उद्देश्यमूलक बनाउन बनाउनु पर्ने सिद्धान्त, नीति, बिधि प्रकृया र कार्यान्वयनको तयारी गहन काम हुने छ । नयाँ कार्यक्रम र नयाँ नेपालको सपना पुरा गर्ने कार्यक्रम बनाउन देशका पुराना विचारका मानिसलाई नै अघि सारिन्छ, यो विडम्बनापूर्ण विषय देखिन्छ ।

संघीय गणतन्त्र नेपाल बनेपछि स्थानीय सरकारहरुले सामाजिक आर्थिक विकासका लागि श्रमिक सहकारी अभियानलाई आप्mनो मूल सामाजिक आर्थिक् आधारका रुपमा लिन सक्ने गरी नीति बनाउन सक्नेछन् । सहकारीको मर्म र सिद्धान्तलाई आत्म्साथ गरेर सहकारी मोडेलको अर्थतन्त्त अपनाउन सकिनेछ ।

सन् १९८० को दशकमा सिङगापुरले को–अपरेटिभ इकोनोमी भनि आप्mनो देशको विकास गरेको थियो । आर्थिक विकास र समृद्धि आजको हाम्रो चुनौती रहेको सबैले स्वीकार गरेको विषय हो । तर कसरी यो प्राप्त गर्ने भन्ने कुरामा भने सबैले स्वीकार गरेको कुनै स्पष्ट मार्गचित्र देखाउन कसैले सकेको छैन । हाम्रै परिवेशको अध्ययन गरेर हाम्रोलागि उपयुक्त बाटो यही हो भन्न सक्ने कुनै अर्थशास्त्री पनि देखा परेका छैनन् । बरु विभिन्न स्कुलमा विभाजित धारणा अगाडि आउने गरेका छन् ।

हाम्रा प्रकृतिक स्रोतहरुलाई कच्चा पदार्थका रुपमा नै विदेशी बजारमा पठाउने र श्रमशक्तिलाई पनि विदेशी बजारमा पठाउने काम भइरहेको छ । उपभोग्य बस्तु र सेवा ठूलो धनराशी खर्च गरेर आयत गर्नेक्रम बढ्दो छ । श्रम र पुँजी उत्पादनका महत्वपूर्ण तत्व हुन तर हाम्रा स्रोत, साधन, श्रम, पुँजी आदिको उचित सदुपयोग गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारालाई मूर्तता दिने कार्यलाई समुदाय स्तरबाट नै नागरिकहरुको उत्साही सहभागिता गराउने कुरा निक्कै महत्वको रहने छ तर यो कुरामा प्रभावकारिता ल्याउँने कार्यक्रम आउँन सकेको देखिदैन ।

श्रमिकहरुलाई सामाजिक आर्थिक क्रियाकलापमा सक्रीय भएर लाग्न सक्ने वातावरण बनाउने प्रयत्न गर्नु आजको समयमा निक्कै महत्वको कार्यक्रम रहेको मान्न सकिन्छ । ‘श्रमिक सहकारी अभियान’ हाम्रो सामाजिक–आर्थिक विकासका लागि एउटा महत्वपूर्ण अभियान हुने देखिन्छ ।

सामजिक आर्थिक विकास तथा देशको आर्थिक रुपान्तरणमा श्रमिक सहकारी अभियानको कुरा गर्दा सहकारी सम्बन्धी केही चर्चा गर्नै पर्ने हुन्छ । सामान्यतः हाम्रो विद्यमान सहकारी अभ्यासलाई हेरेर सहकारी सम्बन्धी धारणा बनाउने र विभिन्न प्रकारका प्रयत्नहरु भइरहेका तर परिणाममूखी नतिजा नआएको अवस्थालाई हेर्नु पर्ने हुन्छ ।

यसको सारंशमा यही भन्न सकिन्छ कि कयौं सकारात्मक आयामहरु रहेको भए तापनि हाम्रो सहकारी क्षेत्र निक्कै परिमार्जन गरिनु पर्ने अवस्थामा देखिन्छ । विद्यमान अनुभव, हाम्रो विद्यमान प्रगोग र सौँचमा परिणाममूखी श्रमिक सहकारी अभियान नहोला तर उच्च सहकारी सोँच र वातावरणमा यो नयाँ अभियानको थालनी नेपालको इतिहासमा नयाँ पहल हुनेछ । युग परिवर्तनको अभियान हुने छ । समाजवादी आर्थिक सामाजिक ढाँचाको जग हुने छ । देशको स्वाभिमानी तथा आत्मनिर्भरताको बाटोमा गतिलो पाइला हुनेछ ।

अलिकति सहकारीको उत्पत्ति र सैद्धान्तिक पृष्ठभूमिको चर्चा गरौ । “सहकार्यका आधारमा उत्पादन र आवश्यकताका आधारमा उपभोग” भन्ने समाजवादी विचारक रोबर्ट ओवेनको आदर्श विचार र व्यवहारिक अनुभवबाट वेलायतका श्रमिकहरूले सहकारीको आविश्कार गरेका हुन । स्वः अध्ययनबाट शिक्षित, श्रमसुधार आन्दोलनका सक्रीय र समाजका सचेत अगुवा श्रमिकहरुबाट सूरुआत भएको सहकारी अभियान आजका दिनमा सामाजिक विकासको दर्शनका रुपमा हेरिन थालिएको छ ।

सहकारी पद्धति आप्mना लागि आफै निर्णयकर्ता, निन्त्रणकर्ता, नेतृत्वकर्ता, समान स्वामित्व र सामाजिक न्यायका आधारमा वितरण प्रणालीको स्कुल हो । यसलाई अव श्रमिक समुदायको जीवनमा लागू गरौ । स्वाधीन र आत्मनिर्भर नेपाल बनाउने कामको वास्तविक सुरुआत हुनेछ ।

विश्वको सामाजिक अनुसन्धानको बृहत कार्यका रुपमा लिइएको एउटा अध्ययन परियोजना पश्चात बर्तमान विश्वब्यापीकरण र खुल्ला बजार प्रणलीको विश्वमा सहकारीलाई कसरी परिभाषित गर्ने भन्ने प्रश्नमा निकालिएको निश्कर्ष अनुसार ः सहकारीहरू नागरिक आफैले आफ्नो, परिवार र समुदायको लागि काम गर्ने व्यवसायी संगठन हुन ।

जनसमूहको पहलमा हुने उद्यमशीलता सहकारी हुन र यसमा नागरिकको स्वःस्पूmर्त पहल खुल्दछ । मानिसले स्वतन्त्र र स्वविवेकले काम गर्न पाउँदा नयाँ सिर्जनाको ढोका खुल्दछ, समस्या समाधानका कयौं उपाय पत्ता लाग्छन् । स्वाभिमान र आत्मसम्मान मानिसले आप्mनो स्वविवेकमा काम गर्ने वातावरणबाट प्राप्त गर्ने कुरा हो – सहकारीको यथार्थ र दुरगामी महिमा यही तथ्यमा आधारित छ ।

सहकारी क्षेत्र गैर–सरकारी र गैर–राजनीतिक क्षेत्र हो । राज्य र राजनीतिक क्षेत्र सहकारीका असल अभिभावक हुन, संरक्षक हुन । असल अभिभावकले आप्mना बच्चाको होमवर्क आफैं गरिदिने त होइन ! यदि त्यसो भयो भने त्यो बच्चा क्षमतावान र मेघावी हुन सक्दैन । क्षमतावान र मेघावी सहकारी क्षेत्र चाहिएको छ । उस्को समस्या उसैले सामथ्र्य जुटाएर हल गरोस, यो असल अभिभावकको सोच हो । यो स्कुलिङलाई बोध गर्न नसक्ने हो भने राज्यको लागि पनि भरपर्दो सहयोगी हुने गरी सहकारी क्षेत्र विकास हुन सक्दैन ।

“सहकारी संस्था संयुक्त स्वामित्व तथा लोकतान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरू परिपूर्ति गर्र्न स्वयम्सेवी रुपमा एकजुट हुने व्यक्तिहरूको स्वायत्त सङ्गठन हो ।” यो सहकारीको परिभाषा हो ।

यस परिभाषालाई अझ स्पष्ट पार्ने सहकारीका मुल्य: आत्मनिर्भरता, स्व–उत्तरदायित्व, लोकतान्त्रिक, समानता, सामाजिक न्याय र ऐक्यबद्धता सहकारीका आधारभूत मूल्य हुन् । साथै आफ्ना संस्थापक/अग्रजहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमान्दारिता, खुल्लापन, सामाजिक दायित्व, अरुको चासो राख्ने नैतिक मूल्यमा विश्वास गरी सोही अनुसारको आचारण ।

यी मुल्य अनुसारको व्यवहार गर्ने मार्गदर्शक सातवटा सिद्धान्तहरु यस प्रकार सुत्रबद्ध गरिएका छन:

पहिलो सिद्धान्त- स्वयंसेवी तथा खुला सदस्यता । दोश्रो सिद्धान्त– सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण । तेश्रो सिद्धान्त –सदस्यको आर्थिक सहभागिता । चौथो सिद्धान्त–स्वायत्तता र आत्मनिर्भरता । पाँचौ सिद्धान्त–शिक्षा, तालिम र सूचना । छैटौं सिद्धान्त–सहकारीहरू बीच सहकार्य । सातौं सिद्धान्त–समुदायप्रति चासो र वातावरणप्रतिको जिम्मेवारी । सहकारीको परिभाषा, मूल्य र सिद्धान्तको समष्टीलाई सहकारी पहिचानका अभिव्यक्तिहरु भनेर विश्वब्यापी रुपमा स्वीकार गरिन्छ र विकासक्रममा यी अभिव्यक्ति र यीनले गरेको समाज विकासको मार्गदर्शनलाई सबैभन्दा उत्कृष्ट मोडलका रुपमा लिइएको छ ।

सन् १९९० मा लामो र बृहत अध्ययनपछि सहकारीका पहिचान गराउने यी सिद्धान्तहरु सुत्रबद्ध गर्ने काममा सङलग्न प्रोफेसर इआन म्याकफर्सनले भनेका छन् – “त्यहाँ यी सिद्धान्तको समूहलाई एकैसाथ लिएमा, यी सिद्धान्तहरू ‘टुक्राहरूको योगफलभन्दा बढी हुनेछन’, त्यहाँ मर्मस्पर्शी सम्बन्ध छ, जब एउटालाई वेवास्ता गरिन्छ, सबै अपूर्ण हुन्छन् ।

सहकारीलाई कुनै एउटा मात्र सिद्धान्तको आधारमा स्पष्ट निक्र्यौल गर्न सकिंदैन । सहकारीहरूले उनीहरूको सिद्धान्तलाई कति राम्रोसँग अपनाएका छन् भन्ने कुराको सम्पूर्णतामा मात्र मूल्याङ्कन गर्न सकिन्छ । यी सिद्धान्त र निर्दिष्ट मूल्यहरूले एकै साथ दिएको अभिव्यक्तिले विश्वका विभिन्न क्षेत्रमा रहेका सहकारीहरूको मुल्याङ्कन गर्न समर्थ बनाउने छन् ।” सहकारी पहिचानका यी अभिव्यक्तिको मर्म र भावनालाई आत्मसात गरेर आजको आवश्यकता, राष्ट्रको सङकल्प र हाम्रो अवस्थाको आधारमा सिर्जनात्मक वैचारिक मार्गदर्शन/नीति, विधि–प्रक्रिया र कार्यान्वयनमा अधिक परिणाममुखी वातावरण बनाउन आवश्यक चिन्तन मनन र जिम्मेवारी बोधको जरुरी अवश्य छ ।

यी माथीका कुराहरुबाट असल सहकारी अभ्यासका लागि सैद्धान्तिक आधार हुनेछ । विचार÷सिद्धान्त उपयुक्त भएपछि त्यको कार्यान्वयन केही कमीकमजोरी रहदै गरेको भए पनि उचित दिशामा अघि बढ्छ ।

सहकारीको उपयोग – श्रमिक सहकारी अभियानको कार्यक्रमका रुपमा अपनाएर हामी सामाजिक–आर्थिक रूपान्तरणका लागि उपयोगी विकल्प बनाउन सक्ने छौ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरूका लागि “श्रमिक सहकारी अभियान” को कार्यक्रम मार्फत देशभरका श्रमिकहरूलाई संस्थागत रूपमा राष्ट्र निर्माणका काममा लाग्ने र प्रत्येक श्रमिकका परिवारको सामाजिक, आर्थिक तथा साँस्कृतिक स्तर उठाउन सकिने परिणाममुखी कार्यक्रम बनाउन सक्ने छौ ।

श्रमिक तथा सुकुम्बासीहरूलाई उनीहरूकै व्यवसायिक संगठनमा आबद्ध रहेर संस्थागत जीवन विताउने कार्यक्रमको रूपमा श्रमिक सहकारीलाई विकास गर्न सकिन्छ । श्रमिक सहकारी अभियानबाट कृषि क्षेत्रमा काम गर्ने श्रमिक, पर्र्यटन क्षेत्रमा काम गर्ने श्रमिक, पहाडमा भारी बोक्ने, शहरमा भारी बोक्ने, रिक्सा चलाउने, ठेला चलाउने, निर्माण सम्बन्धी काम गर्ने, पशुपालन आदि विविध क्षेत्रका असंगठित श्रमिकहरू संगठित तथा संस्थागत जीवन विताउन् ।

स्थानीय निकाय, गाउँ–शहर र अन्य विकास–निर्माणका काममा श्रमिकहरूका सहकारीले संस्थागत काम गर्न थाल्ने छन । स्थानीय तहमा स्थायी संरचनाको अभाव रहेको रमा श्रमिकहरुको कुनै ओपचारिक संगठन नभएको बर्तमान अवस्थासर्वदलीय वा अन्य नाममा उपभोक्ता समिति बनाएर गरिने कामलाई अधिक परिणाममुखी बनाउदै जान सकिने यो प्रभावकारी विकल्प पनि बन्ने छ ।

सामाजिक संघ संस्था, राज्यका सबै निकायहरू, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र, श्रम तथा नागरिक हकहितमा काम गर्नेहरू, उपभोक्ता सम्बन्धी काम गर्ने लगायत सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा श्रम, उपभोक्ता, विकास निर्माणका काम र श्रमिकसंग सम्बद्ध काममा सरोकार राख्नेहरूले यस अभियानलाई स्थापित गर्न सहयोगी हुन पर्दछ ।

बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेता कार्यकर्ता यस अभियानप्रति सहयोगी मात्र होइन सहजकर्ता रहेर यो अभियानलाई राष्ट्रको एउटा प्रभावकारी अभियान बनाइनु आवश्यक छ । गरिब, श्रमिक तथा तल्लोवर्गका परिवारलाई उठाउने तथा श्रमिक वर्गलाई राष्ट्र निर्माणमा सहभागी गराउने यो प्रभावकारी विकल्प हुने छ ।

श्रमिक सहकारीको माध्यमबाट औपचारिक तथा संस्थागत रूपमा देशभरका श्रमिक परिवारलाई राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीको लागि राहत दिन सकिनेछ साथै उनीहरूको श्रमबाट आर्जन भएको रकमबाट उनीहरूको सामाजिक सुरक्षाका विविध कार्यक्रम स्थापित गर्न सकिने छ । संगठनिक संरचना र यसको कार्यान्वयन सम्बन्धी प्रदेश सरकार, स्थानीय सरकार आपैले पहल लिन सक्नेछन । यसको सैद्धान्ति बैचारिक विषय, कानुन, विधि प्रक्रीया कार्यान्वयन आदि विषयमा अध्ययन गरी प्रभावकारी विधि तयार पारेर कार्यान्वयनमा जानु आजको आवश्यकता देखिन्छ ।

नेपाली समाजलाई आम नेपालीहरुको आर्थिक सामाजिक रुपमा आत्मनिर्भर समाज वनाउन आधारभूत तहका नागरिक र श्रमकहरुको उत्थान हुने, सामाजिक सुधार र श्रम सुधारको वातावरण बनाउने कुरामा जोड दिनु पर्छ । स्थानीय स्रोत साधानको ब्यवस्थापन र परिचालनमा स्थानीय श्रमिकहरु तथा समाजसेवीहरुको नेतृत्व र स्वामित्वमा सञ्चालन हुने श्रमिक सहकारी अभियानको विषयमा गम्भिरतापूर्वक विचार गरिनु आवश्यक छ ।