एड्भान्समा कक्षागत साप्ताहिक भित्ते पत्रिका सुरुवात

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७६

धादिङबेसी जेष्ठ १ । धादिङमा नयाँ नयाँ प्रयोगात्मक शिक्षण विधि लागु गर्ने विद्यालयका रुपमा हेर्ने गरिएको एड्भान्स एकेडेमीले कक्षागत रुपमा प्रतियाेगितात्मक साप्ताहिक भित्ते पत्रिका प्रकाशनको सुरुवात गरेको छ ।

प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी प्रिन्सिपल रहेको यस विद्यालयले कक्षा ३ देखि ९ सम्म कक्षागत साप्ताहिक भित्ते पत्रिका प्रकाशन सुरु गरेको हो ।

विद्यार्थीहरुले साहित्यका विभिन्न विधामा लेख्न सिकुन, चित्रकला, कविता, कथा, जिवनी, नियात्रा, संस्मरण, गाउँखाने कथा आदिमा विद्यार्थीको क्षमता बृद्धि गर्न प्रतियाेगितात्मक कक्षागत भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रिन्सिपल बुढाथोकीले धादिङपोष्टलाई बताए ।

प्रिन्सिपल बुढाथोकी भन्दछन्, साप्ताहिक भित्ते पत्रिका सँगै यसमा समावेश उत्कृष्ट लेख, रचना र कला मासिक भित्ते पत्रिका `बाललहरी´ र बाललहरीको उत्कृष्ट लेख रचना र कला त्रैमासिक रुपमा `उषाकिरण´ मा प्रकाशन गरिने छ । सर्वाेत्कृष्ट लेख रचनाहरुकाे सँगालाे वार्षिक रुपमा प्रकाशन गरिने समेत जानकारी दिए । यसले विद्यार्थीहरुले सहजसँग लेख्न र बोल्न सिकाउँछ, भने शिक्षकहरुसँग विद्यार्थीहरु सहजसँग घुलमिल हुन्छन्, साथै भाषिक शुद्धता समेत ल्याउने हुँदा यसलाई शिक्षणको एउटा विधाको रुपमा एड्भान्स एकेडेमीले लिएको हो ।

यो हप्ताको भित्ते पत्रिकामा कक्षा ६-९ मध्ये कक्षा ८ काे एड्भान्स चाैतारी प्रथम, कक्षा ७ काे Advance Explorer द्वितीय र कक्षा ७ काे Everest Weekly Portel तृतीय भए भने कक्षा ३-५ मध्ये कक्षा ४ काे Rhododendron प्रथम, कक्षा ४ काे Brilliant magazine र कक्षा ५ काे Unique & Creative Magazine भित्ते पत्रिका द्वितीय भएको एसाेसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।