
धादिङ कार्तिक २६ । खेलको नामबाट धादिङ हुँदै नेपालकै नाम राख्ने धेरै खेलाडी मध्य पछिल्लो नाम हो रशिला तामाङ ।
यही १६ नोभेम्बर २०१८ मा हङ्कङमा हुने OXFAM TRAILWALKER RACE १०० किलोमिटर र ५० किलोमिटर अल्ट्रा दौड प्रतियोगितामा सहभागी हुन धुनीबेसी नगरपालिका २ की उनै रशिला हङ्कङ प्रस्थान गरेकी छिन् ।
विश्वको चर्चित खेलाडीहरुले सहभागी जनाउने उक्त प्रतियोगितामा धादिङकी चेली रशिला सहित ६ जना महिला खेलाडीहरु हङ्कङ प्रस्थान गरेका हुन् ।
उक्त प्रतियोगितामा नेपालबाट विश्व चर्चित धाविका मिरा राईको नेतृत्वमा १०० किलोमिटर रेसमा धादिंगकी रशिला तामांग, जुम्लाकी सुनमाया बुढा, सोलुखुम्बुकी छेची शेर्पा (राई), ओखलढुङ्गाकी छोकी शेर्पा प्रतिस्पर्धा गर्ने छन् । भने २५ नोभेम्बरमा हुने ५० किलोमिटरमा प्यूठानकी हुमिबुढा मगरले प्रतिस्पर्धा गर्ने छन् ।
खेलाडीहरुलाई बालाजु कराते-डो प्रतिस्ठान, नेपालका अध्यक्ष ध्रुब बिक्रम मल्ल, उपाध्यक्ष बलराम मित्र, पृथी बहादुर श्रेष्ठ, सदस्य रामकुमार श्रेष्ठ र Trail Running Nepal र Mira Rai Initiative का मेनेजर प्रिती खत्री र प्रोग्राम मेनेजर आशिष मिश्रले सफलताको शुभकामना दिदै बिदाई गरेका थिए ।
