चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल पुसम

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७५

काठमाडौं, कार्तिक २६ । चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुस १ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने जानकारी आइतबार आयोजित पत्रकारसम्मेलनमा दिइयो। प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीका आधारमा खेलाइने छ ।

गत वर्ष आयोजना भएको एनभीए क्लब च्याम्पियनसिपमा सहभागी १२ टोलीमध्ये शीर्ष आठ स्थानमा रहेका टोलीले लिगमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालिम केन्द्र, हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँबजार युवा क्लबबीच प्रतिस्पर्धा हुने जानकारी नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले दिए ।

नेपाल भलिबल संघलाई महिला र पुरुष लिग सञ्चालनका लागि राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेको छ। प्रायोजनपछि लिग आरबीबी–एनभीए राष्ट्रिय लिगको नाममा हुँदै आएको छ। राष्ट्रिय महिला लिग भने गत जेठमै सम्पन्न भइसकेको छ। पुरुष राष्ट्रिय टोली १८ औं एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका कारण पुरुषको लिग पुसमा सारिएको महासचिव चन्दले जानकारी दिए ।

लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छ। यसैगरी उपविजेताले एक लाख, तेस्रो हुने टोलीले ५० हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुने लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।