लन्डन, असोज १४ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिदै अंक बाड्न बाध्य भएका हुन् । चेल्सीका इडेन हजार्डले गोल गर्दा ड्यानियल स्टुरिजले बराबरी गोल फर्काएका थिए । खेलको २५ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । माटियो कोभासिकको पासलाई सदुपयोग गरेका थिए ।
यि दुई टोलीले गत बुधबार मात्रै कारबाओ कपको तेस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा चेल्सी २–१ ले विजयी भएको थियो । बराबरी पछि पनि चेल्सी ७ खेलबाट १७ अंक जोडेर लिगको तेस्रो स्थानमा यथावत छ ।
लिभरपुल भने दोस्रो स्थानमा झरेको छ । समान ७ खेलबाट १९ अंक जोडेको लिभरपुल म्यानचेस्टर सिटीसँग गोल अन्तरमा पछि परेको हो । सिटीले शनिबार राति नै ब्राइटन होभ अल्वियोनलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लन सफल भएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सी जितनजिक पुगेपनि वैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ८६ औं मिनेटमा जेम्स मिल्नरको स्थानमा मैदान प्रवेश गरेका स्टुरिजले जेर्डान शाकिरीको पासलाई सदुपयोग गर्दै टिमलाई हारबाट जोगाएका थिए ।
