काठमाडौं, असार २९ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती देशभित्र र बाहिर रहेका नेपालीले विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।
भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्ज्लििङ, आसाम र डुवर्सलगायतका स्थानमा विशेष कार्यक्रम गरिन्छ ।
मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उहाँभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो ।
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो ।
उहाँका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।
