भिटाेफकाे राेपाई महाेत्सव लेलेमा सम्पन्न

Avatar photo
Dhadingpost
असार १५, २०७५

काठमाडौं, असार १५ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले राेपाई महोत्सव २०७५ भव्यताका साथ मनाएको छ । भिटोफ नेपालले असार १५ अर्थात् शुक्रबार ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लेले गाउँमा राेपाई महोत्सव भव्य रुपमा सम्पन्न गरेकाे हो ।

भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले ग्रामिण तथा मौलीक रोपाई मेलाको जगेर्ना एवं प्रवद्र्धन गर्ने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने र स्थानीय स्तरमा पर्यटनको पहुँच बढाउने उद्धेश्यले भिटोफ नेपालले हरेक वर्ष रोपाई महोत्सव मनाउँदै आएको बताएका थिए । कृषि पर्यटन तथा चाँडपर्वलाई पर्यटन प्रवद्र्धन गर्ने माध्यामको रुपमा उपयोग गर्न सके सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न मद्दत पुग्ने समेत सापकाेटाले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामरण थपलिया, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का उपाध्यक्ष जीवन थापामगर, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, नेपाल क्यानोनिङ एसोसिएशनका अध्यक्ष राजेन्द्र लामा, गुरुङ पर्यटन व्यवसायी संघ, नेपालका अध्यक्ष कमला गुरुङ तथा वडा नम्बर ६ का वडा अध्यक्ष, टान, नारा, नाटोजलगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्थानीय नेवारी पञ्चे बाजागाजासहित सञ्चालन गरिएको महोत्सवमा दहि चिउरा खानुका साथै सहभागिहरुबीच हिलो छ्यापाछ्याप गरेर असारे रोपाईको शुभकामना आदनप्रदान गरिएको थियो ।