त्रिशुलीमा अझै १० वटा तुइन, अन्यौलमा तुइनमुक्त हुने योजना

Avatar photo
Dhadingpost
भदौ १६, २०७३

हरिहरसिंह राठौर

धादिङ भदौ १६

 

पाँच वर्षअघि सरकारले बजेटमार्फत घोषणा गरेको त्रिशुली नदीलगायत देशभरीका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अझै पूरा हुन सकेको छैन । सरकारले तोकेको पाँच वर्षको अवधि सकिनै लाग्दा धादिङ जिल्ला विकास समितिले अर्को पाँच वर्ष भित्र त्रिशूली नदीमाथिका तुइन हटाएर सो ठाउँमा  झोलुङ्गे पुल निर्माण गर्ने नीति ल्याएको छ ।

धादिङ जिल्ला विकास समितिको २२ औं जिल्ला परिषदवाट पनि पारित गरिएको निति तथा कार्यक्रममा पारिएको यो प्रस्ताव पनि पाँचबर्ष अघि सरकारी घोषणाजस्तै बन्ने आशंका छ ।

 

पाँच वर्षअघि गोरखाको चाईनाघाटबाट धादिङको चरौंदीनजिकै पृथ्वीराजमार्गतर्फ आवतजावत गर्ने त्रिशूली नदीमाथिको तुइन चुडिएपछि तरकारी लिएर आउँदै गरेका पाँच जना त्रिशूलीको भेलमा परेर वेपत्ता भएका थिए । नदी माथिको तुइन जिर्ण हुँदा पनि मर्मत सम्भार हुन ढिलाई भएको भन्दै सरकारको विरोध हुन थालेपछि तत्कालिन सरकारले देशभरीका तुइन हटाएर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने बताएपनि कार्यान्वयनमा आउन भने सकेको छैन ।

नदी तर्नका लागि जडान भएका तुइनको प्रयोगबाट बढ्दै गएको दुर्घटना, जोखिमपूर्ण यात्रा गरेर हिंड्नबाध्य, जेष्ठ नागरिक, बिरामी, अशक्तहरुका साथै दैनिक आवतजावत गर्नुपर्ने विद्यालय जाने वालवालिका र तरकारी लिएर वजार जानुपर्ने किसानहरु बढी मार खेप्न बाध्य भएका छन ।
त्रिशूली नदीमा कतिपय स्थानमा झोलुङ्गेपुल रहेपनि चितवनको फिस्लिङ्गवाट गोर्खा जोड्ने र धादिङ जिल्लामा समेत १० वटा तुइन प्रयोगमा छन् ।