नीलकण्ठ बालमन्दिर माविमा सिर्जनात्मक लेखनका लागि अध्ययन कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
साउन २४, २०८३

धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा सिर्जनात्मक लेखनका लागि अध्ययनसम्बन्धी ‘अध्ययन शिविर’ सम्पन्न भएको छ ।

नीलकण्ठ रिडर्स क्लबको आयोजनामा सञ्चालन गरिएको Reading Camp Episode 2 अन्तर्गतको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अध्ययनमा रुचि राख्ने गरी ६२ जनाको सहभागिता रहेको थियो ।

‘Reading for Writing Creatively’ अर्थात् सिर्जनात्मक लेखनका लागि अध्ययन भन्ने विषयमा केन्द्रित कार्यक्रममा अध्ययन र पठनलाई सिर्जनात्मक लेखनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीलाई नियमित पठनमार्फत आफ्नो लेखन क्षमता विकास गर्ने, पढेका विषयलाई आफ्नै शैलीमा प्रस्तुत गर्ने तथा अध्ययनबाट सिर्जनात्मक लेखनका लागि सामग्री र विचार प्राप्त गर्ने विषयमा विभिन्न गतिविधिमार्फत जानकारी गराइएको थियो ।

कार्यक्रमका सहजकर्ता डा नवीन बन्धु पहाडीले सिर्जनात्मक लेखनका लागि पठनको भूमिका, लेखनमा विचार निर्माण तथा अध्ययनबाट प्राप्त ज्ञानलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नीलकण्ठ रिडर्स क्लबका अध्यक्ष आदर्श अधिकारीले गरेका थिए भने कार्यक्रममा राम अर्याल, एलएन सुवेदी, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा नीलकण्ठ रिडर्स क्लबका संयोजक दीपेन्द्र रिजालको समेत सहभागिता रहेको थियो ।
नीलकण्ठ रिडर्स क्लबले विद्यार्थी तथा युवामा पठन संस्कृतिको विकाससँगै अध्ययनबाट प्राप्त ज्ञानलाई सिर्जनात्मक लेखन तथा अभिव्यक्तिसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

क्लबले आयोजना गरेको अध्ययन शिविरको यो दोस्रो श्रृंखलाले विद्यार्थीमा नियमित पढ्ने बानीको विकाससँगै आफूले पढेका विषयलाई लेखनका माध्यमबाट अभिव्यक्त गर्ने क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यालय र रिडर्स क्लबले पठन तथा लेखन संस्कृतिको विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा अध्ययनमा आधारित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।