
धादिङ । रोटरी क्लब अफ धादिङको ११औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरी क्लब अफ धादिङका वर्ष २०२६–२७ का अध्यक्ष रोटेरियन ईश्वर कँडेलसहित नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का District Governor Elect डा. आई.पी. ढकालले नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई बधाई दिँदै रोटरीको आदर्श, सेवा भावना र नेतृत्वमार्फत समाजमा दिगो प्रभाव सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले रोटरीले समाजका विभिन्न क्षेत्रमा गर्दै आएको सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउँदै आवश्यकतामा रहेका समुदायसम्म सेवा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा जोन ३७, रिजन ६ का Assistant Governor डा. रेवन्त कुमार भट्टराई, डिस्ट्रिक्ट सेक्रेटरी लक्ष्मण ग्यावली तथा रोटरी क्लब अफ नारायणगढका चार्टर अध्यक्ष एवं रोटरी क्लब अफ धादिङका Governor’s Special Representative रोटेरियन निरञ्जन प्रधानको विशिष्ट आतिथ्यता रहेको थियो ।
विशिष्ट अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै रोटरीका सेवा परियोजनालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सुझाव दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष रोटेरियन ईश्वर कँडेलले आफ्नो कार्यकालमा ‘Create Lasting Impact’ को भावनाअनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कँडेलले रोटरी क्लब अफ धादिङले विगतमा सञ्चालन गर्दै आएका सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा समुदायको आवश्यकता पहिचान गरी थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा रोटेरियन, रोट्रयाक्टर, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थिय।
