मलेखुका होटल तथा रेष्टुरेन्टमा खाद्य अनुगमन : अधिकांशमा सरसफाइ र खाद्य भण्डारणमा कमजोरी

Avatar photo
Dhadingpost
असार ३०, २०८३

धादिङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गजुरी गाउँपालिका–२, मलेखु क्षेत्रका होटल तथा रेष्टुरेन्टहरूमा गरेको संयुक्त अनुगमनमा अधिकांश व्यवसायमा खाद्य स्वच्छता, सरसफाइ, खाद्य भण्डारण तथा पेस्ट कन्ट्रोलसम्बन्धी गम्भीर कमजोरी भेटिएको जनाएको छ ।

विभाग मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नुवाकोटसहितको टोलीले गरेको निरीक्षणका क्रममा १० वटा होटल तथा खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश होटलमा पाकेका तथा तयारी खाद्य पदार्थ खुला रूपमा राखिएको, फ्रिजमा लेबलबिनै खाद्य सामग्री भण्डारण गरिएको, भान्सा खुला रहेको, सरसफाइमा कमी देखिएको तथा पेस्ट कन्ट्रोलको पर्याप्त व्यवस्था नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै केही होटलमा कृत्रिम खाद्य रङ प्रयोग गरिएको, खुला रूपमा फोहोर व्यवस्थापन गरिएको तथा खाद्य पदार्थ व्यवस्थित रूपमा भण्डारण नगरिएको समेत भेटिएको छ ।

अनुगमनमा सपना होटल, मुक्तिनाथ होटल एण्ड लज, श्रेष्ठ होटल, माछापुच्छ्रे होटल, भद्रकाली होटल, गौरीशंकर होटल, श्याम खाजा घर, गोरखाली होटल, झापाली भोजनालय एण्ड गेष्ट हाउस तथा दिपज्योती होटल गरी १० वटा व्यवसाय समेटिएका थिए ।

प्रतिवेदनअनुसार केही होटलमा प्रयोग भइरहेको खाने तेलको गुणस्तर परीक्षण (TPM) गर्दा २५ प्रतिशतभन्दा बढी देखिएकाले उक्त तेल प्रयोग नगर्न निर्देशन दिइएको छ भने एउटा होटलमा कृत्रिम खाद्य रङ प्रयोग भएको आशंकामा एक व्यक्तिलाई रंग नष्ट गर्न लगाइएको उल्लेख गरिएको छ ।

अनुगमन टोलीले सबै व्यवसायलाई तत्काल सुधारका लागि निर्देशन दिएको छ । निर्देशनमा:

  • पाकेका खाद्य पदार्थ ढाकेर तथा उचित तापक्रममा भण्डारण गर्ने,
  • फ्रिजमा राखिने सबै खाद्य सामग्रीमा लेबल अनिवार्य गर्ने,
  • भान्साको संरचना सुरक्षित र घेराबन्दी गर्ने,
  • नियमित पेस्ट कन्ट्रोलको व्यवस्था मिलाउने,
  • फोहोर व्यवस्थापन प्रभावकारी बनाउने,
  • खाद्य स्वच्छताका मापदण्ड पूर्ण रूपमा पालना गर्ने,
  • कृत्रिम खाद्य रङ तथा गुणस्तरहीन तेलको प्रयोग नगर्नेलगायतका विषय समावेश छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले होटल तथा रेष्टुरेन्टहरूले खाद्य स्वच्छता र गुणस्तरका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जनाएको छ । विभागले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने संकेत गरेको छ ।