रास्वपा धादिङको नयाँ कार्यसमितिले सम्हाल्यो पदभार, केन्द्रीय–प्रदेश सदस्यलाई बधाई तथा सम्मान

Avatar photo
Dhadingpost
असार २०, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको नवनिर्वाचित जिल्ला कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । आयोजित जिल्ला कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष सुर्यमणि पाठकले नवनिर्वाचित जिल्ला अध्यक्ष राजन आर्यनलाई पार्टीको माइन्युट हस्तान्तरण गर्दै नेतृत्व परिवर्तनलाई औपचारिकता प्रदान गरेका हुन् ।

बैठकमा हालै सम्पन्न पार्टीको अधिवेशनबाट जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हिमेश पन्त र आशिका तामाङलाई बधाई तथा सम्मान गरिएको थियो ।

त्यसैगरी, प्रदेश समिति सदस्यमा निर्वाचित कृष्णमान शाक्य, सागर गौली, विकास चेपाङ र सचिन अधिकारीलाई समेत कार्यसमितिले सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बैठकले त्रिपुरासुन्दरी गाउँपालिकाका मदन भण्डारीलाई जिल्ला कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनित गर्ने निर्णय पनि गरेको छ । नवगठित कार्यसमितिलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ ।

बैठकमा जिल्लाभरका पालिका सभापतिहरू पदेन सदस्यका रूपमा सहभागी भएका थिए । नवगठित कार्यसमितिले संगठन विस्तार, सदस्यता अभियानलाई तीव्रता दिने, जनसम्पर्कलाई प्रभावकारी बनाउने तथा जिल्लामा पार्टीका गतिविधिलाई थप सक्रिय रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको बताइएको छ ।

जिल्ला कार्यसमिति सदस्य मिलन डल्लाकोटीका अनुसार बैठकले संगठनलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धतासहित आगामी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।